फुर्केखोलाको वैकल्पिक सडक आज १० घण्टा बन्द

काठमाडौँ । जिल्ला प्रशासन कार्यालय धादिङले पृथ्वी राजमार्गअन्तर्गत फुर्केखोला खण्डमा प्रयोग भइरहेको वैकल्पिक सडक मर्मतका लागि आज मंगलबार १० घण्टा सवारी आवागमन पूर्ण रूपमा बन्द गर्ने भएको छ । प्रशासनले सोमबार सूचना जारी गर्दै भदौ २३ गते बिहान ८ बजेदेखि बेलुका ६ बजेसम्म उक्त सडकखण्डमा सबै प्रकारका सवारीसाधन सञ्चालनमा रोक लगाइएको जनाएको छ ।

गत भदौ १० गते भोटेकोशीमा आएको बाढीले गजुरी गाउँपालिका–२ फुर्केखोलास्थित पक्की पुल बगाएपछि ‘परेवाटार–पिपलटार–आदामटार–बेलिनटार–मास्टार’ सडकलाई वैकल्पिक मार्गका रूपमा प्रयोग गरिँदै आएको थियो ।

उक्त वैकल्पिक सडकमा थप मर्मतसम्भार गर्नुपर्ने भएकाले निश्चित समयका लागि सवारी आवागमन बन्द गर्न लागिएको प्रशासनले जनाएको छ । सडक बन्द रहने अवधिमा यात्रु तथा सवारीसाधनलाई ‘धादिङबेँसी–सुनौला बजार–भोलें–कोशीखोला–फोसेटार–कल्लेरीटार’ लगायत अन्य वैकल्पिक मार्ग प्रयोग गर्न प्रशासनले अनुरोध गरेको छ ।

Facebook Comments Box