देशभर मनसुनी प्रभाव, केही स्थानमा भारीदेखि धेरै भारी वर्षाको सम्भावना

काठमाडौँ । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा केही उत्तरतर्फ, नेपालको पश्चिमी भूभागनजिक रहेको छ । उत्तर प्रदेश आसपास विकसित न्यून चापीय क्षेत्रको समेत प्रभाव रहेको महाशाखाले जनाएको छ ।

मौसमको प्रभावले मधेस प्रदेशमा आंशिक बदली तथा कोशी, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशमा साधारणतया बदली रहेको छ । कोशी, बागमती, गण्डकी, लुम्बिनी र कर्णालीका थोरै स्थान तथा सुदूरपश्चिमका एक–दुई स्थानमा मेघगर्जनसहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ ।

आज दिउँसो देशभर साधारणतया बदली रहनेछ । कोशी, बागमती र गण्डकीका हिमाली भूभागका केही स्थान तथा लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका हिमाली भूभागका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षाको सम्भावना छ ।

देशका पहाडी भूभागका धेरै स्थानमा पनि मेघगर्जन र चट्याङसहित मध्यम वर्षाको सम्भावना रहेको छ । लुम्बिनी र सुदूरपश्चिमका तराई भूभागका धेरै स्थान तथा मधेस, कोशी, बागमती र गण्डकीका तराई भूभागका केही स्थानमा समेत मध्यम वर्षा हुनसक्ने महाशाखाले जनाएको छ ।

कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली तथा पहाडी भूभाग, कर्णालीको पहाडी भूभाग तथा लुम्बिनी र सुदूरपश्चिमका पहाडी तथा तराई भूभागका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना छ । त्यस्तै, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भूभागका एक–दुई स्थानमा धेरै भारी वर्षासमेत हुनसक्ने महाशाखाले जनाएको छ । वर्षाका कारण बाढी, पहिरो तथा सडक यातायातमा असर पर्नसक्ने भएकाले आवश्यक सतर्कता अपनाउनुपर्ने देखिएको छ ।

Facebook Comments Box