पाँच संसदीय समितिका बैठक बस्दै

काठमाडौँ ।  सङ्घीय संसद्अन्तर्गत प्रतिनिधिसभा र राष्ट्रियसभाका विभिन्न पाँच संसदीय समितिको बैठक सोमबार बस्दैछ। समितिहरूले आ–आफ्नो कार्यसूची तय गर्दै बैठक बोलाएका हुन्। प्रतिनिधिसभाको अन्तर्राष्ट्रिय सम्बन्ध तथा पर्यटन समितिको बैठक बिहान ११ बजे बस्नेछ। बैठकमा ‘पर्यटन विधेयक, २०८१’ का सम्बन्धमा नेपाल पर्वतारोहण सङ्घलगायत सरोकारवाला निकायसँग छलफल गरिनेछ।

त्यस्तै, कृषि तथा प्राकृतिक स्रोत समितिको बैठक बिहान ९ः३० बजे बस्नेछ। बैठकमा मानव–वन्यजन्तु द्वन्द्व व्यवस्थापन प्राविधिक कार्यदलले तयार पारेको प्रतिवेदनमाथि छलफल हुनेछ। छलफलमा सम्बन्धित मन्त्री, सचिव तथा राष्ट्रिय प्रकृति संरक्षण कोषका प्राविधिक कार्यदल संयोजक सहभागी हुनेछन्।

पूर्वाधार विकास समितिको बैठक बिहान १० बजे बस्नेछ। बैठकमा पूर्वाधार विकास तथा सार्वजनिक–निजी साझेदारीका विषयमा छलफल गरिनेछ। त्यसका लागि लगानी बोर्ड, नेपाल उद्योग वाणिज्य महासङ्घ, नेपाल चेम्बर अफ कमर्स, नेपाल उद्योग परिसङ्घ तथा नेपाल–इन्डिया चेम्बर अफ कमर्स एन्ड इन्डस्ट्रीका प्रतिनिधिलाई बोलाइएको छ।

राष्ट्रियसभाको विधायन व्यवस्थापन समितिको बैठक दिउँसो १ बजे बस्नेछ। बैठकमा ‘संक्रामक पशु रोग (नियन्त्रण) विधेयक, २०८३’ माथि सैद्धान्तिक छलफल गरिनेछ। यसैगरी, सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको ३४४औँ बैठक दिउँसो २ बजे बस्नेछ। बैठकमा विषय विज्ञ धनप्रसाद लामिछानेसँग खर्क नीतिका सम्बन्धमा छलफल गरिने कार्यसूची रहेको छ।

Facebook Comments Box