करेन्ट लागेर सिराहामा एकैदिन तीन जनाको मृत्यु

सिराहा । सिराहामा करेन्ट लागेर एकैदिन तीन जनाको मृत्यु भएको छ। लक्ष्मीपुर पतारी गाउँपालिकामा दुई जना र नवराजपुर गाउँपालिकामा एक जनाको करेन्ट लागेर मृत्यु भएको प्रहरीले जनाएको छ। प्रहरीका अनुसार लक्ष्मीपुर पतारी गाउँपालिका–५ खरुकियाहीका ४५ वर्षीय इसा अन्सारी र ५५ वर्षीय पुलकित मण्डलको खेतमा सिँचाइ गर्ने क्रममा करेन्ट लागेर मृत्यु भएको हो।

खेतमा सिँचाइका लागि मोटरको तार मिलाउने क्रममा करेन्ट लाग्दा अन्सारीको घटनास्थलमै मृत्यु भएको थियो। मण्डलको भने नाङ्गो तार छुने क्रममा करेन्ट लागेर मृत्यु भएको प्रहरीले जनाएको छ। यसैगरी, नवराजपुर गाउँपालिका–४ मा विद्युत् मोटरको तार जोड्ने क्रममा नाङ्गो तार छुँदा २८ वर्षीय पशुपति शर्मालाई करेन्ट लागेको थियो।

गम्भीर घाइते शर्माको उपचारका लागि नवराजपुर आधारभूत अस्पताल लैजाँदै गर्दा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सिराहाका सूचना अधिकारी डीएसपी रमेशबहादुर पालले जानकारी दिनुभयो। तीनै जनाको शव परीक्षणका लागि लहानस्थित रामकुमार उमाप्रसाद स्मारक प्रादेशिक अस्पतालमा राखिएको प्रहरीले जनाएको छ।

Facebook Comments Box