बाढी र पहिरोका कारण विभिन्न राजमार्ग अवरुद्ध

काठमाडौँ, ४ भदौ – लगातारको वर्षाका कारण देशका विभिन्न मुख्य राजमार्ग तथा सडकखण्डमा यातायात प्रभावित भएको छ। बाढी र पहिरोका कारण कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशका विभिन्न सडकमा आवागमन अवरुद्ध तथा एकतर्फी भएको नेपाल प्रहरीले जनाएको छ। कोशी प्रदेशअन्तर्गत भोजपुरमा मध्यपहाडी लोकमार्ग बाढीका कारण एकतर्फी सञ्चालनमा रहेको छ। इलामको मेची राजमार्ग भने अविरल वर्षाका कारण पूर्ण रूपमा अवरुद्ध भएको प्रहरीले जनाएको छ।

दुवै स्थानमा वैकल्पिक सडकको व्यवस्था रहेको जनाइएको छ। बागमती प्रदेशका सडकखण्डमा वर्षाका कारण जोखिम बढी देखिएको छ। काभ्रेको बिपी राजमार्गमा सम्भावित बाढीको जोखिमलाई ध्यानमा राख्दै राति ६ बजेदेखि बिहान ४ बजेसम्म सवारीसाधन सञ्चालनमा रोक लगाइएको छ। दिउँसो भने सडकको अवस्था हेरेर सवारी सञ्चालन गरिने जनाइएको छ।

त्यस्तै, मकवानपुरको कान्ति लोकपथ र नुवाकोटको टोखा–छहरे सडकखण्डमा पनि रातिको समयमा सवारीसाधन सञ्चालनमा रोक लगाइएको छ। सिन्धुपाल्चोकको अरनिको राजमार्ग र रसुवाको त्रिशूली–मैलुङ–स्याफ्रुबेँसी सडकखण्ड पहिरो तथा बाढीका कारण पूर्ण रूपमा अवरुद्ध भएका छन्।

गण्डकी प्रदेशअन्तर्गत लमजुङको बेँसीसहर–मनाङ सडकखण्ड पहिरोका कारण पूर्ण रूपमा बन्द भएको छ। बागलुङको कालीगण्डकी करिडोर तथा मुस्ताङको बेनी–जोमसोम र जोमसोम–कोरला सडकखण्ड भने पहिरो र बाढीका कारण एकतर्फी सञ्चालनमा रहेका छन्।

यसैगरी, कर्णाली प्रदेशको रुकुम पश्चिममा बाढीका कारण जाजरकोट–डोल्पा सडकखण्ड पूर्ण रूपमा अवरुद्ध भएको प्रहरीले जनाएको छ।

लगातारको वर्षाका कारण जुनसुकै बेला सडकमा बाढी, पहिरो तथा कटानको जोखिम हुनसक्ने भएकाले प्रहरीले सडकको अवस्था बुझेर मात्र यात्रा तय गर्न सर्वसाधारणलाई आग्रह गरेको छ। प्रहरीले यात्राका क्रममा विशेष सावधानी अपनाउन तथा जोखिमयुक्त सडकखण्डमा अनावश्यक यात्रा नगर्नसमेत अनुरोध गरेको छ।

Facebook Comments Box