प्रतिनिधिसभाका पाँच संसदीय समितिको बैठक आज बस्दै
काठमाडौँ, २ भदौ – प्रतिनिधिसभाअन्तर्गतका विभिन्न पाँच वटा संसदीय समितिको बैठक आज बस्दैछ। कृषि तथा प्राकृतिक स्रोत समिति, पूर्वाधार विकास समिति, विधायन व्यवस्थापन समिति, सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समिति तथा सङ्घीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठक बस्न लागेको हो।
कृषि तथा प्राकृतिक स्रोत समितिको बैठक बिहान साढे ९ बजे बस्नेछ। बैठकमा कृषि, वन तथा पर्यावरण मन्त्रालयद्वारा गठित मानव–वन्यजन्तु द्वन्द्व व्यवस्थापन प्राविधिक कार्यदलले तयार पारेको प्रतिवेदनमाथि छलफल हुनेछ। छलफलका क्रममा उठेका विषयमा जवाफ दिन कृषिमन्त्री, मन्त्रालयका सचिवलगायतलाई समितिले बैठकमा बोलाएको छ।
पूर्वाधार विकास समितिको बैठक बिहान १० बजे बस्नेछ। बैठकमा स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था इप्पान र ऊर्जा उत्पादकहरूले भोग्दै आएका विभिन्न समस्या तथा चुनौतीका विषयमा छलफल गर्ने कार्यसूची रहेको छ। यस्तै, सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठक बिहान साढे १० बजे बस्नेछ। बैठकमा मदन पुरस्कार गुठीको स्थलगत अवलोकनलगायत विभिन्न विषयमा छलफल हुने बताइएको छ।
सङ्घीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठक बिहान ११ बजे बस्नेछ। बैठकमा सरकारले नियुक्त गर्ने विभिन्न निकायका पदाधिकारीमा समावेशी तथा समानुपातिक प्रतिनिधित्व सुनिश्चित गर्ने विषयलगायत विविध समसामयिक विषयमा छलफल हुने कार्यसूची रहेको छ। यसैगरी, विधायन व्यवस्थापन समितिको बैठक पनि आज बस्नेछ। समितिका बैठकमार्फत विभिन्न विधेयक तथा समसामयिक विषयमा छलफल गरी आवश्यक निर्णय तथा निर्देशन दिने तयारी गरिएको छ।

