इन्डोनेसियामा ७.७ म्याग्निच्युडको शक्तिशाली भूकम्प, सुनामीका छाल रेकर्ड
जकार्ता, ३० साउ – पूर्वी इन्डोनेसियाको समुद्री क्षेत्रमा शनिबार बिहान ७.७ म्याग्निच्युडको शक्तिशाली भूकम्प गएको छ । भूकम्पपछि केही क्षेत्रमा एक मिटरभन्दा कम उचाइका सुनामीका छाल रेकर्ड गरिएको इन्डोनेसियाको भूभौतिक निकाय बीएमकेजीले जनाएको छ ।
शक्तिशाली भूकम्पपछि स्थानीय बासिन्दा घरबाट बाहिर निस्किएर सुरक्षित स्थानतर्फ लागेका थिए । राष्ट्रिय विपद् न्यूनीकरण निकायका प्रवक्ता डोदी युलेओभाका अनुसार नगेकेओ र बिमालगायत क्षेत्रमा करिब एक मिनेटसम्म भूकम्पको शक्तिशाली धक्का महसुस गरिएको थियो । प्रारम्भिक विवरणअनुसार भूकम्पबाट ठूलो क्षति वा मानवीय क्षतिको खबर प्राप्त भएको थिएन ।
बीएमकेजीका अनुसार स्थानीय समयअनुसार बिहान ४ः५८ बजे पहिलो भूकम्प गएको थियो । करिब १५ किलोमिटर गहिराइमा गएको उक्त भूकम्पपछि लगातार परकम्पहरू समेत गएका थिए । भूकम्पपछि सुनामीको जोखिमलाई ध्यानमा राख्दै सम्बन्धित निकायले चेतावनी जारी गरेको थियो । विभिन्न क्षेत्रमा एक मिटरभन्दा कम उचाइका सुनामीका छाल रेकर्ड गरिएको बीएमकेजीले जनाएको छ ।
यता, अस्ट्रेलियाको सुनामी चेतावनी केन्द्रले भने उक्त समुद्री भूकम्पका कारण अस्ट्रेलियाको मुख्य भूभाग, द्वीप तथा अन्य भूभागमा सुनामीको खतरा नरहेको जनाएको छ ।इन्डोनेसिया भूकम्प तथा सुनामीको उच्च जोखिममा रहेको मुलुक हो । प्रशान्त महासागर वरिपरि फैलिएको सक्रिय भूकम्पीय क्षेत्र ‘रिङ अफ फायर’ मा पर्ने भएकाले इन्डोनेसियामा बारम्बार शक्तिशाली भूकम्प जाने गरेका छन् ।

