सम्पादक किशोर श्रेष्ठ पक्राउपछि जनआस्था साप्ताहिकको कार्यालयमा प्रहरीको छापा

काठमाडौँ, २८ साउन – प्रहरीले सम्पादक किशोर श्रेष्ठलाई पक्राउ गरेको भोलिपल्ट आज बिहान ललितपुरको झम्सीखेल, ठाडोढुंगास्थित जनआस्था साप्ताहिकको कार्यालयमा छापा मारेको छ । काठमाडौँ प्रहरी प्रमुख एसएसपी डिल्ली घिमिरेले बिहीबार बिहान जनआस्था साप्ताहिकको कार्यालयमा छापा मारिएको पुष्टि गर्नुभएको छ । उहाँका अनुसार कार्यालयमा केही आवश्यक कागजात रहेको हुनसक्ने भएकाले छापा मारिएको हो ।

पत्रकार श्रेष्ठलाई प्रहरीले बुधबार राति ललितपुरस्थित निवासनजिकबाट पक्राउ गरेको थियो । वैयक्तिक गोपनीयता हननसम्बन्धी कसुरमा उपत्यका अपराध अनुसन्धान कार्यालय र काठमाडौँ प्रहरी परिसरको संयुक्त टोलीले उहाँलाई पक्राउ गरेको हो । पक्राउअघि श्रेष्ठविरुद्ध काठमाडौँ जिल्ला अदालतबाट पक्राउ पुर्जी लिइएको प्रहरीले जनाएको छ ।

श्रेष्ठ जनआस्था साप्ताहिक र जनआस्था डटकमका सञ्चालक तथा सम्पादक हुनुहुन्छ । उहाँ प्रेस काउन्सिल नेपालका पूर्वकार्यवाहक अध्यक्षसमेत हुनुहुन्छ । प्रहरीका अनुसार श्रेष्ठमाथि राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद अमरकान्त चौधरी र एक युवतीबीच चुम्बन भइरहेको तस्बिर सार्वजनिक गरेको आरोप छ । ती युवतीले आफ्नो व्यक्तिगत गोपनीयता हनन भएको भन्दै काठमाडौँ प्रहरीमा जाहेरी दिएपछि प्रहरीले अनुसन्धान अघि बढाएको हो ।

Facebook Comments Box