काठमाडौँसहित २८ जिल्लामा आकस्मिक बाढीको जोखिम, सतर्क रहन आग्रह
काठमाडौँ, १८ साउन – बाढी पूर्वानुमान महाशाखाले आज काठमाडौँ उपत्यकासहित २८ जिल्ला र आसपासका साना खोला तथा नदीमा आकस्मिक बाढी आउने जोखिम रहेको जनाएको छ। आज बिहान जारी बुलेटिनअनुसार काठमाडौँ, भक्तपुर, ललितपुर र काभ्रेपलाञ्चोकका साना नदी तथा खोलाहरूमा पानीको बहाव उल्लेख्य बढ्ने र आकस्मिक बाढीको उच्च जोखिम रहने पूर्वानुमान गरिएको छ।
यस्तै ताप्लेजुङ, झापा, धनकुटा, संखुवासभा, सोलुखुम्बु, उदयपुर, दोलखा, सिन्धुपाल्चोक, रसुवा, नुवाकोट, धादिङ, मकवानपुर, गोरखा, लमजुङ, तनहुँ, कास्की, पर्वत, म्याग्दी, स्याङ्जा, पाल्पा, गुल्मी, चितवन, नवलपरासी पूर्व, नवलपरासी पश्चिम लगायतका जिल्लाका साना नदी तथा खोलामा बहाव बढ्ने र मध्यम जोखिम रहने महाशाखाले जनाएको छ। महाशाखाले नदी किनार, तटीय क्षेत्र तथा डुबान हुन सक्ने स्थानमा बसोबास गर्ने नागरिकलाई विशेष सतर्कता अपनाउन तथा मौसम र बाढीसम्बन्धी आधिकारिक सूचनाको नियमित जानकारी लिन आग्रह गरेको छ।


