अविरल वर्षापछि देशका विभिन्न मुख्य राजमार्ग अवरुद्ध, यात्रामा उच्च सतर्कता अपनाउन आग्रह

काठमाडौँ, १८ साउन – अविरल वर्षा, बाढी र पहिरोका कारण देशका विभिन्न मुख्य राजमार्ग तथा सडकखण्डमा सवारी आवागमन प्रभावित भएको छ । नेपाल प्रहरीले आज बिहान साढे ६ बजेसम्मको अद्यावधिक विवरण सार्वजनिक गर्दै उपत्यकासहित कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशका विभिन्न सडक पूर्ण वा आंशिक रूपमा अवरुद्ध रहेको जनाएको छ ।

ललितपुरको बागमती गाउँपालिका–३ पाण्डुरमा पहिरो खस्दा कान्ति लोकपथ पूर्ण रूपमा बन्द भएको छ । कोशी प्रदेशको भोजपुरस्थित मध्यपहाडी लोकमार्ग र इलामको मेची राजमार्गमा वैकल्पिक मार्गमार्फत सीमित रूपमा सवारी सञ्चालन भइरहेको छ भने तेह्रथुमको काँडे क्षेत्रमा पहिरो खस्दा मध्यपहाडी लोकमार्ग पूर्ण रूपमा अवरुद्ध भएको छ ।

बागमती प्रदेशमा बाढी र पहिरोको जोखिमका कारण बिपी राजमार्ग र कान्ति लोकपथमा रातिको समयमा सवारी सञ्चालनमा प्रतिबन्ध कायम गरिएको छ । सिन्धुपाल्चोकको अरनिको राजमार्ग, दोलखाको लामासाँघु–रामेछाप सडकखण्ड तथा रसुवाको त्रिशूली–मैलुङ–स्याफ्रुबेँसी सडकखण्ड पनि पहिरो र बाढीका कारण प्रभावित बनेका छन् ।

यस्तै, गण्डकी प्रदेशमा कालीगण्डकी करिडोर एकतर्फी सञ्चालनमा रहेको छ भने गोरखा, मनाङ, म्याग्दी र लमजुङका विभिन्न सडकखण्ड पहिरोका कारण पूर्ण रूपमा अवरुद्ध भएका छन्। कर्णाली प्रदेशको रुकुम पश्चिममा भेरी करिडोरअन्तर्गत जाजरकोट–डोल्पा सडकखण्ड पनि बाढीका कारण बन्द रहेको प्रहरीले जनाएको छ । प्रहरीले वर्षायाममा यात्रा गर्नुअघि सम्बन्धित निकायबाट सडकको पछिल्लो अवस्था बुझ्न तथा आवश्यक सतर्कता अपनाउन सबै यात्रुलाई आग्रह गरेको छ ।

Facebook Comments Box