मनसुनी वायुको प्रभाव: आज यी प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना

काठमाडौं, १४ साउन  – देशभर मनसुनी वायु सक्रिय रहेकाले आज विभिन्न प्रदेशमा वर्षाको सम्भावना रहेको छ। जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार मनसुनको न्यून चापीय रेखा नेपालको पूर्वी भूभागमा सरदर स्थानको आसपास तथा पश्चिम भूभागमा सरदरभन्दा उत्तरतर्फ रहेको छ।

हाल कोशी, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा सामान्यदेखि पूर्ण बदली रहेको छ भने मधेस, बागमती र गण्डकी प्रदेशका तराई क्षेत्रमा आंशिक बदली छ। बागमतीका केही स्थान तथा कोशी, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका केही स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको महाशाखाले जनाएको छ।

महाशाखाका अनुसार आज दिउँसो देशभर सामान्यदेखि पूर्ण बदली रहनेछ। हिमाली क्षेत्रका थोरै स्थानमा वर्षा तथा हिमपात हुने सम्भावना छ भने पहाडी भूभागका केही स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा हुन सक्छ। त्यसैगरी, कोशी र सुदूरपश्चिम प्रदेशका तराईका केही स्थान तथा मधेस, बागमती, लुम्बिनी र गण्डकी प्रदेशका तराईका थोरै स्थानमा पनि मेघगर्जन र चट्याङसहित वर्षाको सम्भावना रहेको छ।

महाशाखाले कोशी र बागमती प्रदेशका हिमाली तथा पहाडी भूभाग तथा कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भूभागका एक–दुई स्थानमा भारी वर्षा हुन सक्ने चेतावनी दिएको छ। आज राति पनि देशभर सामान्यदेखि पूर्ण बदली रहनेछ। हिमाली र पहाडी क्षेत्रका थोरै स्थानमा मध्यम वर्षा तथा हिमपातको सम्भावना रहनेछ। साथै, कोशी, बागमती, गण्डकी र सुदूरपश्चिम प्रदेशका तराईका केही स्थान, मधेस तथा लुम्बिनी प्रदेशका तराईका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित वर्षा हुने सम्भावना छ।

रातिको समयमा कोशी प्रदेशका पहाडी र तराई क्षेत्र तथा बागमती र गण्डकी प्रदेशका पहाडी भूभागका एक–दुई स्थानमा भारी वर्षा हुन सक्ने भएकाले नदी–नाला आसपास, पहिरो प्रभावित क्षेत्र र कमजोर भूभागमा आवश्यक सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ।

Facebook Comments Box