पहिरो हटाइएपछि बीपी राजमार्गमा सवारी आवागमन पुनः सञ्चालन

काभ्रे, ३ साउन – पहिरो हटाइएपछि काभ्रेपलाञ्चोकस्थित बीपी राजमार्गमा सवारी आवागमन पुनः सञ्चालनमा आएको छ। प्रहरीका अनुसार काभ्रेको रोशी गाउँपालिका–७, ८ र ९ का विभिन्न स्थानमा पहिरो खस्दा राजमार्गमा सवारी आवागमन पूर्ण रूपमा अवरुद्ध भएको थियो।

सडकबाट पहिरो र लेदो हटाएपछि आज बिहान ७ः४० बजेदेखि राजमार्गमा सवारी सञ्चालन सुरु भएको प्रहरीले जनाएको छ। सडक डिभिजन कार्यालय भक्तपुरका प्रमुख सुमन योगेशका अनुसार रोशी–७ अमलटारी मुनिको पहिरो तथा रोशी–९ पिन्थलीबेँशीमा जमेको लेदो हटाइएपछि राजमार्ग सञ्चालनमा ल्याइएको हो। वर्षायामका कारण थप पहिरो खस्ने जोखिम कायम रहेकाले उक्त सडकखण्डमा यात्रा गर्दा आवश्यक सतर्कता अपनाउन सम्बन्धित निकायले चालक तथा यात्रुलाई आग्रह गरेका छन्।

Facebook Comments Box