मुग्लिन–नारायणगढ सडकमा दुई बस र एक ट्रक ठोक्किँदा, २५ भन्दा बढी यात्रु घाइते
चितवन, ३ साउन – चितवनको मुग्लिन–नारायणगढ सडकखण्डअन्तर्गत जलबीरे नजिकै दुई बस र एक ट्रक ठोक्किँदा २५ भन्दा बढी यात्रु घाइते भएका छन्। प्रहरीका अनुसार सर्लाहीबाट काठमाडौं आउँदै गरेको बा.प्र. ०३–००१ ख १६७१ नम्बरको बस, काठमाडौंबाट दाङतर्फ जाँदै गरेको अर्को बस र एक ट्रक आपसमा ठोक्किँदा दुर्घटना भएको हो। दाङतर्फ जाँदै गरेको बसको नम्बर भने खुल्न बाँकी छ।
दुर्घटनामा दाङ जाने बसका चालक गम्भीर घाइते भएका छन्। अन्य घाइतेको संख्या २५ भन्दा बढी रहेको प्रहरीले जनाएको छ। घाइतेहरूको उद्धार तथा उपचारको व्यवस्था भइरहेको छ भने घाइतेको यकिन विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ। दुर्घटनापछि केही समय अवरुद्ध भएको मुग्लिन–नारायणगढ सडकखण्ड अहिले सञ्चालनमा आएको छ।
घटनास्थलमा सशस्त्र प्रहरी बलको विपद् व्यवस्थापन तालिम शिक्षालय कुरिनटार र नेपाल प्रहरीको संयुक्त टोली खटिएर उद्धार तथा व्यवस्थापनको काम गरिरहेको छ। वर्षा र पहिरोको उच्च जोखिमका कारण जिल्ला प्रशासन कार्यालय चितवनले शनिबार राति १० बजेदेखि उक्त सडकखण्डमा सवारी आवागमन रोकेको थियो।
आइतबार बिहान ६ बजे सडक सञ्चालनमा आएलगत्तै लेन मिचेर सवारी सञ्चालन हुँदा दुर्घटना भएको प्रारम्भिक अनुमान गरिएको छ। सडक डिभिजन कार्यालयले वर्षायाममा सीमित गति र लेन अनुशासन पालना गरेर मात्रै सवारी सञ्चालन गर्न चालकलाई आग्रह गरेको छ।

