जोर्डनमा अमेरिकी सैनिकमाथि आक्रमण, दुईको मृत्युपछि अमेरिकाद्वारा इरानमा पुनः हवाई हमला

काठमाडौँ, ३ साउन – जोर्डनमा इरानले प्रहार गरेको भनिएको ब्यालिस्टिक मिसाइल र ड्रोन आक्रमणमा दुई अमेरिकी सैनिकको मृत्यु भएको छ भने एक सैनिक अझै बेपत्ता रहेका छन्। अमेरिकी सेन्ट्रल कमाण्ड (सेन्टकम)का अनुसार आक्रमणमा घाइते भएका चार सैनिकलाई उपचारका लागि जोर्डनका अस्पतालमा भर्ना गरिएको थियो। उपचारपछि उनीहरू अस्पतालबाट डिस्चार्ज भएका छन् भने सामान्य घाइते भएका अन्य सैनिक पुनः ड्युटीमा फर्किएका छन्।

सेन्टकमले मृत्यु भएका सैनिकहरूको परिचय, आक्रमण भएको स्थान तथा घटनासम्बन्धी थप विवरण भने सार्वजनिक गरेको छैन। यस घटनापछि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको निर्देशनमा अमेरिकाले शनिबार राति इरानमाथि पुनः हवाई हमला गरेको सेन्टकमले पुष्टि गरेको छ।

सेन्टकमका अनुसार लगातार आठौँ रात गरिएको हवाई आक्रमणको उद्देश्य होर्मुज जलघाँटीमा व्यावसायिक जहाजका लागि खतरा सिर्जना गर्ने इरानको क्षमतालाई कमजोर बनाउनु रहेको छ। विज्ञप्तिअनुसार जोर्डनमा अमेरिकी सैनिकमाथि भएको आक्रमणमा संलग्न रहेको आरोप लागेका इस्लामिक रिभोलुसनरी गार्ड कोर्प्स (आईआरजीसी) का संरचनालाई लक्षित गर्दै प्रतिकारात्मक कारबाही गरिएको हो। आक्रमणका लक्ष्य र क्षतिबारे भने थप विवरण सार्वजनिक गरिएको छैन।

पछिल्लो एक सातादेखि अमेरिका–इरानबीच तनाव पुनः चर्किएको छ। अमेरिकाले इरानविरुद्ध बन्दरगाह नाकाबन्दी पुनः लागू गरेको छ भने इरानले होर्मुज जलघाँटी बन्द गरेको जनाएको छ। दुवै देशबीच भएको युद्धविराम एक महिना नपुग्दै भंग भएपछि मध्यपूर्वमा सुरक्षा चुनौती र क्षेत्रीय तनाव थप बढेको छ।

Facebook Comments Box