देशभर मनसुन सक्रिय, एक–दुई स्थानमा भारी वर्षाको सम्भावना
काठमाडौं, ३२ असार – देशभर मनसुनी वायु सक्रिय रहेकाले आज पनि अधिकांश क्षेत्रमा वर्षाको सम्भावना रहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल मनसुनको न्यूनचापीय रेखा पश्चिम क्षेत्रमा सरदर स्थानभन्दा केही माथि नेपालको तराई नजिक तथा पूर्वतर्फ सरदर स्थान आसपास रहेको छ।
यसको प्रभावले बिहीबार बिहान देशभर आंशिकदेखि सामान्य बदली रहेको छ। लुम्बिनी प्रदेशका केही स्थान तथा कोशी, मधेस र बागमती प्रदेशका थोरै स्थानका साथै कर्णाली र सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको महाशाखाले जनाएको छ। महाशाखाका अनुसार दिउँसो देशभर सामान्यदेखि पूर्ण बदली रहनेछ। हिमाली क्षेत्रका केही स्थानमा मेघगर्जन तथा चट्याङसहित वर्षा र उच्च हिमाली क्षेत्रमा हिमपातको सम्भावना रहेको छ।
पहाडी भूभागका धेरै स्थानमा तथा कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका तराईका केही स्थान, मधेस प्रदेश र सुदूरपश्चिमको तराईका थोरै स्थानमा पनि मेघगर्जन र चट्याङसहित वर्षा हुने सम्भावना छ। कोशी र बागमती प्रदेशका हिमाली भूभाग, कोशी, बागमती, लुम्बिनी र कर्णाली प्रदेशका पहाडी भूभाग तथा लुम्बिनी प्रदेशको तराईका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।
राति पनि देशभर सामान्यदेखि पूर्ण बदली रहनेछ। गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी तथा तराईका केही स्थान र कोशी, बागमती तथा मधेस प्रदेशका थोरै स्थानमा मेघगर्जन तथा चट्याङसहित मध्यम वर्षा हुने सम्भावना रहेको छ। महाशाखाका अनुसार गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका हिमाली, पहाडी तथा तराईका एक–दुई स्थानमा रातिको समयमा पनि भारी वर्षा हुन सक्ने भएकाले नदी तथा खोलानालामा पानीको बहाव बढ्ने, डुबान र पहिरोको जोखिम रहने हुँदा आवश्यक सतर्कता अपनाउन आग्रह गरिएको छ।

