धोबीघाटको अत्याधुनिक ढल प्रशोधन केन्द्र परीक्षण सञ्चालनमा
काठमाडौं, ३२ असार – ललितपुरको धोबीघाटमा निर्माण सम्पन्न भएको अत्याधुनिक ढल प्रशोधन केन्द्र परीक्षण सञ्चालनमा आएको छ। आयोजना कार्यान्वयन निर्देशनालय (पिआइडी) का अनुसार केन्द्रले असार ३० गतेदेखि परीक्षण सञ्चालन सुरु गरेको हो। दैनिक तीन करोड ७२ लाख लिटर ढल प्रशोधन क्षमता रहेको उक्त केन्द्रले काठमाडौं उपत्यकाको ढल व्यवस्थापनलाई प्रभावकारी बनाउने अपेक्षा गरिएको पिआइडीका प्रमुख इञ्जिनियर रामकुमार श्रेष्ठले बताउनुभयो।
सिजिसिओसी–अटल जेभीले निर्माण गरेको यस केन्द्रसँग जोडिने बागमती नदीका दुवै किनारामा मुख्य ढल बिछ्याउने काम भने अधिकार सम्पन्न बागमती सभ्यता एकीकृत विकास समितिले सम्पन्न गरेको हो। प्रमुख श्रेष्ठका अनुसार केन्द्र पूर्ण रूपमा सञ्चालनमा आएपछि बागमती नदीमा मिसिने ढलको मात्रा उल्लेखनीय रूपमा घट्नेछ। यसले नदीको प्रदूषण नियन्त्रणमा सहयोग पुग्नुका साथै उपत्यकाको वातावरणीय स्वच्छतामा सकारात्मक प्रभाव पर्ने अपेक्षा गरिएको छ।
पिआइडीले धोबीघाटमै दैनिक तीन करोड ७२ लाख लिटर क्षमताको अर्को ढल प्रशोधन केन्द्र पनि निर्माण गरिरहेको जनाएको छ। त्यसैगरी कोडकुमा दैनिक एक करोड ४२ लाख लिटर, सल्लाघारीमा एक करोड ७० लाख लिटर, हनुमानघाटमा १० लाख लिटर र गोकर्णमा ३० लाख लिटर क्षमता भएका ढल प्रशोधन केन्द्र निर्माणाधीन छन्।
निर्देशनालयका अनुसार वितरण हुने पिउने पानीको करिब ८० प्रतिशत भाग ढलमा परिणत हुने गर्छ। हाल काठमाडौं उपत्यका खानेपानी लिमिटेड (केयुकेएल) ले दैनिक करिब २० करोड लिटर पानी वितरण गरिरहेकाले भविष्यमा थप ढल प्रशोधन केन्द्र आवश्यक पर्ने देखिएको प्रमुख श्रेष्ठले बताउनुभयो।
उहाँका अनुसार नदी किनारका सुकुम्वासी बस्ती हटाइएका क्षेत्रमा व्यवस्थित ढल प्रशोधन केन्द्र निर्माणका लागि आवश्यक जग्गा उपलब्ध गराइदिन सम्बन्धित मन्त्रालयसँग अनुरोध गरिएको छ। साथै, काठमाडौं उपत्यकाका अन्य स्थानमा पनि विकेन्द्रीकृत ढल प्रशोधन प्रणाली स्थापना गर्ने सम्भावनाबारे अध्ययन भइरहेको निर्देशनालयले जनाएको छ।

