घर र लालपुर्जा पाएपछि जैमिनीका सुकुम्वासीको समस्या समाधानतर्फ
बागलुङ, ३२ असार – बागलुङको जैमिनी नगरपालिकाले सुकुम्वासी परिवारलाई घर, जग्गा र लालपुर्जा उपलब्ध गराएपछि नगरभित्रको सुकुम्वासी समस्या समाधानको चरणमा पुगेको छ। नगरपालिकाले पहिचान भएका १८ सुकुम्वासी परिवारका लागि जग्गा खरिद गरी घर निर्माण गरेपछि लालपुर्जा हस्तान्तरण गरेको हो।
नगर उपप्रमुख हरिहर शर्माका अनुसार सुकुम्वासी समस्या समाधानका लागि अघिल्लो कार्यकालदेखि नै पहल सुरु गरिएको थियो। सबै पहिचान भएका सुकुम्वासी परिवारले घर, जग्गा र लालपुर्जा प्राप्त गरिसके पनि राष्ट्रिय भूमि आयोगमार्फत आवश्यक प्रक्रिया पूरा भएपछि मात्रै नगरपालिकालाई औपचारिक रूपमा सुकुम्वासीमुक्त घोषणा गरिने उहाँले बताउनुभयो।
उहाँका अनुसार सुरक्षित आवास उपलब्ध गराउनु राज्यको दायित्व भएकाले नगरपालिकाले सुकुम्वासीको पहिचानदेखि जग्गा खरिद, घर निर्माण र लालपुर्जा वितरणसम्मका काम सम्पन्न गरेको हो। नगरपालिकाले सुकुम्वासी परिवारका अतिरिक्त प्राकृतिक विपद्का कारण विस्थापित तथा आर्थिक अभावका कारण घर निर्माण गर्न नसकेका ४४ परिवारका लागि पनि आवास निर्माण गरिदिएको जनाएको छ।
यसका लागि कार्यविधि बनाएर घरविहीन परिवारलाई रु तीन लाख, विपद्का कारण घर गुमाएका परिवारलाई रु दुई लाख ५० हजार र आर्थिक अभावका कारण घर पुनर्निर्माण गर्न नसकेका परिवारलाई रु दुई लाखका दरले सहयोग उपलब्ध गराइएको उपप्रमुख शर्माले जानकारी दिनुभयो।
नगरपालिकाका अनुसार पहिलो चरणमा तीन पुस्तासम्म आफ्नै घर नभएका परिवारका लागि आवास निर्माण गरिएको थियो। दोस्रो चरणमा विपद् वा आर्थिक समस्याका कारण आफ्नै घरमा बस्न नसकी अरूकै घरमा आश्रित परिवारलाई घर निर्माण गरेर बसोबासको व्यवस्था मिलाइएको हो। घर प्राप्त गर्ने स्थानीय उषा नेपालीले नगरपालिकाको सहयोगपछि स्थायी बसोबासको चिन्ता हटेको बताउनुभयो। उहाँले घर पाएपछि अब बाँकी आवश्यकता आफ्नै मेहनतबाट पूरा गर्ने आत्मविश्वास बढेको प्रतिक्रिया दिनुभयो।

