अविरल वर्षाले चितवनमा मौरीपालन व्यवसायमा ठूलो क्षति, करिब ६० लाख रुपैयाँ नोक्सानी
चितवन, ३१ असार – अविरल वर्षापछि आएको बाढीले चितवनको रत्ननगर क्षेत्रमा मौरीपालन व्यवसायमा ठूलो क्षति पुर्याएको छ। चरनका लागि राखिएका सयौं मौरीघार बाढीले बगाउँदा तथा मौरीगोला नष्ट हुँदा प्रारम्भिक रूपमा करिब ६० लाख रुपैयाँ बराबरको क्षति भएको अनुमान गरिएको छ।
रत्ननगर नगरपालिकाको कृषि विकास शाखाका प्रमुख प्रवीण लामाका अनुसार रत्ननगर–११ को मनिखोला तथा रत्ननगर–९ को लालपर्सा क्षेत्रमा राखिएका मौरीघार सोमबार आएको बाढीले बगाएको हो। अधिकांश घारमा मह निकाल्ने समय भइसकेकाले मौरीगोला र उत्पादन हुन लागेको महसमेत नष्ट हुँदा किसानको क्षति थप बढेको उनले बताए।
मनिखोला क्षेत्रमा शङ्कर भट्टका २५०, रोशन विकका ७० र दिनेश ढकालका ९५ गरी ४१५ मौरीघार प्रभावित भएका छन्। केही घार सुरक्षित अवस्थामा फेला पर्ने सम्भावना रहे पनि अधिकांश मौरीगोला नष्ट भएको कृषि शाखाले जनाएको छ। यस्तै, लालपर्सा क्षेत्रमा लोकप्रसाद पराजुली, दीपक थापा र एकबहादुर गुरुङका गरी २७० मौरीघार प्रभावित भएका छन्। तीमध्ये करिब २५० घार बाढीले पूर्ण रूपमा बगाएको र केही घार मात्रै सुरक्षित स्थानमा सार्न सफल भएको प्रमुख लामाले जानकारी दिए।
उनका अनुसार एउटा मौरीघारको औसत मूल्य करिब १० हजार रुपैयाँ पर्छ। साथै, प्रत्येक घारबाट चारदेखि पाँच किलोग्रामसम्म मह उत्पादन हुने अवस्थामा रहेकाले घार, मौरीगोला र मह एकैसाथ नष्ट हुँदा किसानले ठूलो आर्थिक क्षति बेहोर्नुपरेको छ। रत्ननगर नगरपालिकाले प्रभावित क्षेत्रमा स्थलगत अनुगमन जारी राखेको जनाएको छ। पानीको बहाव अझै उच्च रहेकाले सबै प्रभावित स्थानमा पुगेर विस्तृत क्षतिको विवरण सङ्कलन गर्न कठिनाइ भइरहेको नगरपालिकाले जनाएको छ।

