सुनसरीको वराहक्षेत्र मन्दिरमा कात्तिके मेला सुरु

सुनसरी, ३ मङ्सिर – सुनसरीको वराहक्षेत्र मन्दिरमा कात्तिके मेला सुरु भएको छ । पौराणिक कालदेखि लाग्दै आएको कात्तिके मेला मङ्सिर ११ गतेसम्म सञ्चालन हुने भएको हो । पौराणिक कालदेखि नै वराहक्षेत्रमा हरिबोधिनी एकादशीको दिनदेखि सुरु भएर पूर्णिमा सम्म पाँच दिन मेला सञ्चलन हुँदै आएको र अहिले पनि प्रत्येक वर्ष मेला लाग्दै आएको वराहक्षेत्र संरक्षण मञ्चका सचिव राजु घिमिरेले बताउनु भयो ।

मेलाको लागि आवश्यक पूर्वाधारहरू घाट, विद्युत्, खानेपानी, स्वास्थ्य र सुरक्षाको व्यवस्थापन गरिएको मेलाको व्यवस्थापन गदै आएको वराहक्षेत्र संरक्षण मञ्चले जनाएको छ । सचिव घिमिरेले भन्नु भयो “भारतको बिहारबाट हजारौ भक्तजनहरू कात्तिके मेलामा वर्षेनी आउने गर्नु भएको छ । बिहार बासीहरूले वराह भगवानलाई कुल देवता मान्ने भएको हुँदा विशेष गरी बिहारबाट ठुलो सङ्ख्यामा भक्तजनहरू आउने गर्नु हुन्छ ।”

वराहक्षेत्र नगरपालिका वडा नम्बर १ मा भगवान् विराजमान भएको स्थान वराहक्षेत्र धाममा विशेष पूजा अर्चना गरी कात्तिके मेला मनाइने भएको हो । मेलामा वराह भगवानको दैनिक विशेष पूजा अर्चना हुनुका साथै विद्वान आचार्य हरूबाट वराह भगवानको कथा प्रवचन र भजन किर्तन हुने बताइएको छ । प्रेमको प्रतीक समेत मानिने भगवान् वराहको कात्तिके मेलामा दर्शन गरे मनोकामना पूरा हुने जनविश्वास रही आएको छ ।

प्राचीन पूर्वीय संस्कृति तथा परम्पराअनुसार वराहक्षेत्र धाममा रहेको वराह भगवान् विष्णुका १० अवतार मध्ये तेस्रो अवतार हुन् । सत्य युगमा डुब्न लागेको पृथ्वीलाई भगवान् बराहले जङ्गली जनावर बदलेको रूप धारण गरी संसारभरका प्राणीहरूको रक्षा गरेर संसारलाई स्थायित्व दिएको हिन्दु शास्त्रमा उल्लेख रहेको छ ।

पौराणिक कथाअनुसार भगवान् वराह तथा वराहक्षेत्र धामलाई संसारको पहिलो धामको रूपमा व्याख्या गर्ने गरिएको सचिव घिमिरेले बताउनु भयो । धार्मिक तथा पर्यटकीय स्थलका रूपमा रहेको मन्दिरमा नेपाल, भारत, भुटान, वंगलादेशलगायत विश्वका विभिन्न देशबाट धार्मिक पर्यटकहरू आउने गरेका छन् । स्थानीयहरूले उत्पादन गरेको उपजहरू अम्रिसाे, कुचो, नाङ्लो, डालो र तेजपत्ताहरु मेलामा पाइने छन् ।

Facebook Comments Box