गोरखामा ५८ प्रतिशत धान रोपाइँ सम्पन्न
गोरखा, ३० असार – समयमै मनसुन सक्रिय भएसँगै गोरखा जिल्लामा धान रोपाइँले गति लिएको छ। हालसम्म जिल्लामा करिब ५८ प्रतिशत रोपाइँ सम्पन्न भएको कृषि विकास कार्यालयले जनाएको छ। कार्यालयका अनुसार यस वर्ष जिल्लाभर १० हजार ५०० हेक्टर क्षेत्रफलमा बर्खे धान रोप्ने लक्ष्य राखिएको छ। सूचना अधिकारी सुमन भट्टराईका अनुसार गत वर्ष असार मसान्तसम्म जिल्लामा ४० देखि ४५ प्रतिशत मात्रै रोपाइँ सम्पन्न भएको थियो।
उनका अनुसार मौसम अनुकूल रहे आगामी केही दिनभित्रै अधिकांश क्षेत्रमा रोपाइँ सकिने अपेक्षा गरिएको छ। कार्यालयले यस वर्ष जिल्लामा करिब ९५ प्रतिशत क्षेत्रफलमा धान रोपाइँ सम्पन्न हुने अनुमान गरेको छ। समयमै पर्याप्त वर्षा भएकाले यस वर्ष धान उत्पादन पनि वृद्धि हुने कृषि प्राविधिकहरूको अपेक्षा छ।
गोरखाका दरौँदी, सिर्दिफाँट, शेराफाँट, ज्यादुलफाँट, टारिफाँट, दर्बुङफाँट र बोर्लाङफाँट जिल्लाका प्रमुख धान उत्पादन क्षेत्र हुन्। भने चुमनुब्री र धार्चे गाउँपालिकाका हिमाली तथा उच्च पहाडी क्षेत्रमा भने धान खेती नहुने कृषि विकास कार्यालयले जनाएको छ।

