वर्षा र पहिरोको जोखिमका कारण काठमाडौंबाट बाहिरिने सबै प्रमुख नाका बन्द

काठमाडौं, ३० असार – अविरल वर्षापछि पहिरो र बाढीको जोखिम बढेपछि काठमाडौं उपत्यकाबाट बाहिरिने सबै प्रमुख सडकमार्गमा सवारी आवागमन अस्थायी रूपमा रोकिएको छ। सुरक्षा अवस्थाको मूल्याङ्कन नभएसम्म लामो दूरीका सवारी साधन सञ्चालन नगर्न ट्राफिक प्रहरीले निर्णय गरेको हो।

उपत्यका ट्राफिक प्रहरी कार्यालय रामशाहपथका अनुसार नागढुंगा–मुग्लिन–नारायणगढ, बीपी राजमार्ग तथा फर्पिङ–फाखेल–सिन्नेरी हुँदै हेटौंडा जाने सडकमार्गमा सवारी सञ्चालन रोकिएको छ। बसपार्कलगायत विभिन्न स्थानमा लामो दूरीका सवारी साधन होल्ड गरिएको छ।

ट्राफिक प्रहरीका इन्सपेक्टर किरण घिमिरेका अनुसार चितवनको केराबारी र तुइनखोला क्षेत्रमा पहिरो खसेपछि नागढुंगा–मुग्लिन सडक पूर्ण रूपमा अवरुद्ध भएको छ। यस्तै, बीपी राजमार्गअन्तर्गत रोशी खोलामा पानीको बहाव बढ्नुका साथै मंगलटार क्षेत्रमा लेदोसहितको पहिरो गएपछि उक्त मार्गमा पनि आवागमन रोकिएको छ।

त्यसैगरी, फर्पिङ–फाखेल–सिन्नेरी–हेटौंडा सडक र कान्तिपथको पाङ्दुरे तथा टाकुन्जे क्षेत्रमा पहिरो खसेकाले ती सडक पनि बन्द गरिएका छन्। गएरातिदेखि नै वर्षाका कारण यात्रा जोखिमपूर्ण बनेपछि रात्रिकालीन सवारी सञ्चालन रोकिएको थियो। जोखिम कायमै रहेकाले सोमबार बिहान पनि दिवाकालीन सवारी सञ्चालन सुरु नगरिएको प्रहरीले जनाएको छ।

ट्राफिक प्रहरीले मौसम र सडकको अवस्थाको निरन्तर मूल्याङ्कनपछि मात्र सवारी सञ्चालन गर्ने वा नगर्ने निर्णय गरिने जनाएको छ। यसअघि नै जिल्ला प्रशासन कार्यालय चितवनले पहिरोको उच्च जोखिमलाई मध्यनजर गर्दै अर्को सूचना जारी नभएसम्म नारायणगढ–मुग्लिन सडकखण्डमा सवारी आवागमन स्थगित गरेको थियो।

Facebook Comments Box