मनसुन सक्रिय, आज विभिन्न स्थानमा भारीदेखि अति भारी वर्षाको सम्भावना
काठमाडौं, २९ असार – जल तथा मौसम विज्ञान विभागले आज देशका विभिन्न स्थानमा भारीदेखि धेरै भारी वर्षा हुने सम्भावना रहेको भन्दै सतर्कता अपनाउन आग्रह गरेको छ। विभागका अनुसार मनसुनी प्रणाली सक्रिय रहेकाले बाढी, पहिरो, डुबान तथा भू–क्षयको जोखिम बढ्न सक्ने देखिएको छ।मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ भने मनसुनको न्यून चापीय रेखा औसत स्थानभन्दा केही उत्तरतर्फ सर्दै नेपालको तराई भूभाग नजिक रहेको छ।
हाल देशभर अधिकांश स्थानमा बदली रहेको छ। कोशी, बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका केही स्थान तथा मधेस र सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको विभागले जनाएको छ। आज दिउँसो कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा अधिकांश स्थानमा बदली रहनेछ भने कर्णाली र सुदूरपश्चिम प्रदेशमा आंशिकदेखि सामान्य बदली रहने पूर्वानुमान छ।
कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली क्षेत्रमा धेरै स्थानमा तथा लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका हिमाली क्षेत्रमा केही स्थानमा मेघगर्जन, चट्याङसहित वर्षा तथा हिमपात हुन सक्ने सम्भावना रहेको छ। त्यसैगरी कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी तथा तराई क्षेत्रका धेरै स्थान, मधेस प्रदेश तथा लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका केही स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा हुने अनुमान गरिएको छ।
विभागका अनुसार कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भूभागका केही स्थान तथा मधेस प्रदेशसहित कोशी, बागमती र गण्डकीका तराई क्षेत्रमा भारी वर्षाको सम्भावना रहेको छ। आज राति पनि मनसुन सक्रिय रहने विभागले जनाएको छ। कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा अधिकांश स्थानमा बदली रहनेछ भने कर्णाली र सुदूरपश्चिममा सामान्य बदली रहनेछ।
रातिको समयमा कोशी र बागमती प्रदेशका पहाडी तथा तराई भूभागका केही स्थानमा भारीदेखि धेरै भारी वर्षा हुने सम्भावना छ। साथै, यी प्रदेशका पहाडी क्षेत्रका एक–दुई स्थानमा अति भारी वर्षा समेत हुन सक्ने विभागको पूर्वानुमान छ। गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानमा पनि भारी वर्षाको सम्भावना रहेको छ।
विभागले भारी वर्षाका कारण गेग्रान बहाव, बाढी, पहिरो, डुबान तथा भू–क्षयको जोखिम बढ्न सक्ने भएकाले प्रभावित क्षेत्रका बासिन्दालाई आवश्यक सतर्कता अपनाउन आग्रह गरेको छ। यसका साथै कृषि, स्वास्थ्य, पर्यटन, पर्वतारोहण तथा सडक र हवाई यातायातमा समेत असर पर्न सक्ने भएकाले यात्रा तथा दैनिक गतिविधि सञ्चालन गर्दा मौसमको अद्यावधिक जानकारी लिएर मात्रै अघि बढ्न विभागले सुझाव दिएको छ।

