१०८ धारासहित पूर्वाधार विस्तारपछि रामधुनी मन्दिरको आकर्षण बढ्यो, धार्मिक पर्यटकको चहलपहल वृद्धि

सुनसरी, २७ असार – सुनसरीको रामधुनी नगरपालिका–४ स्थित ऐतिहासिक तथा धार्मिक महत्व बोकेको रामधुनी मन्दिर पछिल्ला वर्षहरूमा पूर्वाधार विस्तारसँगै धार्मिक पर्यटनको प्रमुख गन्तव्यका रूपमा विकसित हुँदै गएको छ। मन्दिर परिसरमा निर्माण गरिएको १०८ धारा, धर्मशाला तथा अन्य संरचनाले यहाँ आउने भक्तजन र पर्यटकको आकर्षण उल्लेखनीय रूपमा बढाएको छ।

त्रेतायुगमा भगवान् श्रीरामले वनवासका क्रममा यही स्थानमा धुनी बालेर एक रात विश्राम गरेको र आफ्ना खराउ यहीँ छाडेको धार्मिक विश्वासका कारण रामधुनी मन्दिर विशेष आस्थाको केन्द्र मानिन्छ। जंगलको बीचमा रहेको यस मन्दिरमा दैनिक दर्शनार्थी पुग्ने गरेका छन् भने रामनवमी, विवाहपञ्चमी, ऋषिपञ्चमी, महाशिवरात्रि र हरितालिका तीजजस्ता पर्वमा भक्तजनको ठूलो भीड लाग्ने गर्छ।

मन्दिर व्यवस्थापन समितिका अध्यक्ष डिल्ली कार्कीका अनुसार संघीय सरकार, रामधुनी नगरपालिका तथा अन्य निकायको सहयोगमा मन्दिर क्षेत्रको पूर्वाधार विकासलाई तीव्रता दिइएको छ। उहाँका अनुसार संघीय सरकारको एक करोड ३५ लाख रुपैयाँको लागतमा निर्माण गरिएको १०८ धारा अहिले मन्दिर परिसरको प्रमुख आकर्षण बनेको छ। यसबाट तीर्थयात्रीले सहज रूपमा स्नान गर्न पाउने भएकाले धार्मिक पर्यटन प्रवर्द्धनमा समेत टेवा पुग्ने विश्वास गरिएको छ।

त्यस्तै, संघीय सरकार र रामधुनी नगरपालिकाको संयुक्त दुई करोड रुपैयाँको लगानीमा मन्दिर परिसरमा धर्मशाला निर्माण भइरहेको छ। कोशी प्रदेश पर्यटन कार्यालय विराटनगरको ५० लाख रुपैयाँ सहयोगमा तपस्वीथानमा सिँढी निर्माण तथा सीताकुण्ड आसपास टायल बिछ्याउने काम सम्पन्न भइसकेको छ। गुठी संस्थानको पाँच लाख रुपैयाँ सहयोगमा यसअघि सीताको मूर्ति पनि निर्माण गरिएको समितिले जनाएको छ।

मन्दिर परिसरमा प्रवेशद्वार, कमलकुण्ड वरिपरि रेलिङ, घेराबारलगायतका संरचना निर्माण सम्पन्न भइसकेका छन्। साथै रामदरबार, अष्टचिरञ्जीवी मन्दिर, श्रीयन्त्र मन्दिर, श्रीचन्द्र बाबा वनस्खण्डी तथा प्रीतमदास मन्दिर निर्माणको काम पनि अघि बढिरहेको छ। इटहरीबाट घुम्न पुगेका सन्जोग श्रेष्ठले १०८ धारासहित निर्माण गरिएका नयाँ संरचनाले रामधुनी मन्दिरको आकर्षण अझ बढाएको बताउनुभयो। उहाँका अनुसार यस्ता पूर्वाधारले धार्मिक पर्यटन प्रवर्द्धनमा महत्वपूर्ण योगदान पुर्‍याउनेछन्।

व्यवस्थापन समितिका अनुसार पछिल्लो समय नेपालका विभिन्न जिल्ला तथा भारतबाट समेत भक्तजनको आगमन बढ्दो क्रममा छ। प्राकृतिक वातावरण, धार्मिक आस्था र आधुनिक पूर्वाधारको संयोजनले रामधुनी मन्दिर पूर्वी नेपालको प्रमुख धार्मिक पर्यटकीय गन्तव्यका रूपमा स्थापित हुँदै गएको छ।

Facebook Comments Box