बागलुङमा एचआईभी सङ्क्रमितको संख्या २२० पुग्यो, चालु वर्ष आठ नयाँ सङ्क्रमित थपिए

बागलुङ, २६ असार – बागलुङमा एचआईभी सङ्क्रमितको संख्या २२० पुगेको छ। चालु आर्थिक वर्षमा आठ जना नयाँ सङ्क्रमित थपिएको प्रदेश जनस्वास्थ्य कार्यालय बागलुङले जनाएको छ। कार्यालयका सूचना अधिकारी देवप्रकाश घिमिरेका अनुसार कुल सङ्क्रमितमध्ये १५ वर्षमुनिका छ जना र १५ वर्षमाथिका २१४ जना रहेका छन्। त्यसमध्ये ११४ जना महिला र १०० जना पुरुष छन्।

उहाँका अनुसार सङ्क्रमितहरूले धवलागिरि प्रादेशिक अस्पताल बागलुङ, बुर्तिबाङ अस्पताल र बेनी अस्पतालबाट नियमित रूपमा एचआईभीविरुद्धको औषधि तथा आवश्यक स्वास्थ्य सेवा लिइरहेका छन्। सङ्क्रमितलाई गोपनीयता कायम राख्दै नियमित उपचारको पहुँचमा ल्याउने अभियानलाई तीव्र बनाइएको उहाँले बताउनुभयो।

घिमिरेका अनुसार अघिल्लो वर्ष करिब २० हजार जनाको परीक्षण गर्दा १० जनामा एचआईभी सङ्क्रमण पुष्टि भएको थियो भने यस वर्ष हालसम्म आठ जनामा सङ्क्रमण देखिएको छ। अधिकांश नयाँ सङ्क्रमित विदेशबाट फर्किएका व्यक्तिहरू रहेको उहाँको भनाइ छ।

असुरक्षित यौन सम्पर्क, सङ्क्रमित रगतको प्रयोग तथा लागुऔषध प्रयोग गर्दा एउटै सुई साटासाट गर्ने जस्ता कारणले एचआईभी सर्ने भएकाले सचेत रहन स्वास्थ्यकर्मीले आग्रह गरेका छन्। साथै समाजमा हुने लाञ्छना र भेदभावका कारण धेरै व्यक्ति परीक्षण र उपचारमा आउन हिच्किचाउने समस्या अझै कायम रहेको जनाइएको छ।

Facebook Comments Box