काठमाडौं महानगरको १९औँ नगरसभा सम्पन्न, विधेयक र वार्षिक प्रतिवेदन सर्वसम्मत पारित
काठमाडौं, २६ असार – काठमाडौं महानगरपालिकाको १९औँ अधिवेशन तथा नगरसभा शुक्रबार छैटौँ बैठकसँगै सम्पन्न भएको छ। जेठ ३१ गतेदेखि सुरु भएको अधिवेशनले विभिन्न विधेयक, वार्षिक प्रतिवेदन तथा आगामी आर्थिक वर्षका नीति–कार्यक्रमलाई टुंगो लगाएको हो। अन्तिम बैठकमा चौथो र पाँचौँ बैठकमा प्रस्तुत संशोधन विधेयक तथा वार्षिक प्रतिवेदनमाथि छलफल भएको थियो। विधायन समितिकी सदस्य हुमा देवी आचार्यले विद्यमान कानुनमा समसामयिक संशोधनसम्बन्धी प्रस्ताव सभामा प्रस्तुत गर्नुभएको थियो।
छलफलका क्रममा नगरसभा सदस्य विमलकुमार होडा, सन्तोष ढुङ्गेल, मचाराजा महर्जन, सुरेश मानन्धर र रोजिना श्रेष्ठले आफ्ना धारणा राखेका थिए। छलफल र सदस्यहरूले दिएका सुझाव तथा लिखित संशोधन प्रस्ताव समेटेर सभाका अध्यक्ष एवं कार्यवाहक प्रमुख सुनिता डङ्गोलले विधेयक तथा न्यायिक समिति, लेखा समिति र सुशासन समितिको वार्षिक प्रतिवेदन निर्णयार्थ प्रस्तुत गर्नुभएको थियो।
सबै प्रस्ताव सर्वसम्मत रूपमा पारित भएपछि उहाँले नगरसभा सम्पन्न भएको घोषणा गर्नुभयो। कार्यवाहक प्रमुख डङ्गोलले स्वीकृत नीति, कार्यक्रम र बजेट प्रभावकारी रूपमा कार्यान्वयन गरी महानगरवासी तथा राजधानीमा आश्रित नागरिकको हित, सुविधा र सुरक्षालाई सुनिश्चित गर्न सम्बन्धित सबै पक्षलाई आग्रह गर्नुभयो।
नगरसभाले यसअघि असार १ गते आर्थिक वर्ष २०८३/८४ का लागि ११ क्षेत्रअन्तर्गत १०१ बुँदे नीति तथा कार्यक्रम सर्वसम्मत रूपमा पारित गरेको थियो। त्यसैगरी असार ४ गतेको बैठकमा कार्यवाहक प्रमुख डङ्गोलले २५ अर्ब ८८ करोड ३० लाख ५५ हजार रुपैयाँको बजेटसँगै आर्थिक विधेयक र विनियोजन विधेयक प्रस्तुत गर्नुभएको थियो।

