भेरी–बबईको विद्युत् राष्ट्रिय प्रसारण प्रणालीमा जोड्न १३२ केभी प्रसारण लाइन बन्ने

सुर्खेत, २५ असार – राष्ट्रिय गौरवको भेरी–बबई डाइभर्सन बहुउद्देश्यीय आयोजनाबाट उत्पादन हुने विद्युत् राष्ट्रिय प्रसारण प्रणालीमा जोड्न १३२ केभी क्षमताको प्रसारण लाइन निर्माण गरिने भएको छ। आयोजनाबाट उत्पादन हुने विद्युत्लाई नेपाल विद्युत् प्राधिकरणले निर्माण गरेको कोहलपुर–सुर्खेत १३२ केभी प्रसारण लाइनमा जोडिनेछ। यसका लागि करिब १.७ किलोमिटर लामो नयाँ प्रसारण लाइन निर्माण गरिनेछ।

भेरी नदीको पानी डाइभर्सन गरी बबई नदीमा झारेर करिब ४६.८ मेगावाट विद्युत् उत्पादन गर्ने तथा बाँके र बर्दियाका करिब ५१ हजार हेक्टर खेतीयोग्य जमिनमा वर्षभरि सिँचाइ सुविधा उपलब्ध गराउने आयोजनाको लक्ष्य छ। प्रस्तावित प्रसारण लाइनमा नौवटा टावर रहनेछन्। तीमध्ये तीनवटा बर्दिया राष्ट्रिय निकुञ्जको मुख्य क्षेत्रमा र बाँकी छवटा निकुञ्जको मध्यवर्ती क्षेत्रमा पर्नेछन्।

प्रसारण लाइनको क्षेत्राधिकार १८ मिटर रहनेछ भने यसबाट सुर्खेतको भेरीगङ्गा नगरपालिका–५ र बर्दिया राष्ट्रिय निकुञ्ज प्रभावित हुनेछन्। आयोजनाले वातावरणीय प्रभाव मूल्याङ्कन (ईआईए) प्रतिवेदन तयारी प्रक्रिया अघि बढाएको छ र सरोकारवालासँग आवश्यक सुझाव मागेको छ।

आयोजनाका अनुसार हालसम्म भौतिक प्रगति ७० प्रतिशत र वित्तीय प्रगति ५७ प्रतिशत पुगेको छ। बाँकी निर्माण सम्पन्न गर्न करिब तीन वर्ष लाग्ने सूचना अधिकारी हरिबहादुर थापाले जानकारी दिनुभयो। हाल सुरुङ निर्माण सम्पन्न भइसकेको छ भने सिभिल, हाइड्रो–मेकानिकल र इलेक्ट्रो–मेकानिकलतर्फका काम जारी छन्।

प्रसारण लाइन निर्माणका लागि वातावरणीय प्रभाव मूल्याङ्कनको पूर्वस्वीकृति प्रक्रिया पनि सुरु गरिएको छ। यसअघि ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले आयोजना स्थलको निरीक्षण गर्दै निर्माण कार्यलाई तीव्र गतिमा अघि बढाउन सम्बन्धित निकायलाई निर्देशन दिनुभएको थियो।

Facebook Comments Box