धरान औद्योगिक क्षेत्रमा पाँच नयाँ उद्योग, ३५ करोड रुपैयाँ स्वदेशी लगानी भित्रियो
धरान, २४ असार – लामो समयदेखि निष्क्रिय रहेका उद्योगहरूको लिज सम्झौता रद्द गरी धरान औद्योगिक क्षेत्रमा पाँच नयाँ उद्योग थपिएका छन्। नयाँ उद्योगको प्रवेशसँगै करिब ३५ करोड रुपैयाँ बराबरको स्वदेशी लगानी भित्रिएको छ। धरान औद्योगिक क्षेत्रका कार्यालय प्रमुख जीवनारायण बञ्जाडेका अनुसार नयाँ उद्योग पूर्ण रूपमा सञ्चालनमा आएपछि करिब ३५० जनाले प्रत्यक्ष रोजगारी पाउने अपेक्षा गरिएको छ।
औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडले कानुनी प्रक्रिया पूरा गर्दै लामो समयदेखि उत्पादन नगरी जग्गा ओगटेर बसेका उद्योगहरूको लिज सम्झौता रद्द गरी नयाँ उद्योगलाई स्थान उपलब्ध गराएको हो। नयाँ थपिएका उद्योगमा प्रीति भल्भ एन्ड फिटिङ इन्डस्ट्रिज, जिडी स्टिल इन्डस्ट्रिज, सिद्धि विनायक घरेलु उद्योग, जेआर भेन्चर्स र सूर्य डायमन्ड इन्डस्ट्रिज रहेका छन्।
तीमध्ये सूर्य डायमन्ड इन्डस्ट्रिजको लिज सम्झौता भने औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडको केन्द्रीय कार्यालयबाट अन्तिम स्वीकृतिको प्रक्रियामा रहेको बञ्जाडेले जानकारी दिए। यसअघि नेपाल न्यून नेटवर्क, शुभम् वाटर इन्डस्ट्रिज, जानकी प्रोडक्ट्स, फेमिली युटेन्सिल इन्डस्ट्रिज र कामना मल्टिफोर्ड इन्डस्ट्रिजको लिज सम्झौता रद्द गरिएको थियो।
बञ्जाडेका अनुसार निष्क्रिय उद्योगहरूको सम्पत्ति मूल्याङ्कन गरी कम्पनीको विनियमावलीअनुसार सार्वजनिक प्रस्ताव आह्वान तथा लिज हस्तान्तरण प्रक्रिया पूरा गरेपछि नयाँ उद्योगसँग सम्झौता गरिएको हो। सञ्चालनको तयारीमा रहेका उद्योगमध्ये प्रीति भल्भ एन्ड फिटिङ इन्डस्ट्रिजले पानीका मिटर तथा फिटिङ सामग्री, जिडी स्टिल इन्डस्ट्रिज र जेआर भेन्चर्सले निर्माण सामग्री, सिद्धि विनायक घरेलु उद्योगले खाद्यान्न तथा पशु आहार र सूर्य डायमन्ड इन्डस्ट्रिजले विभिन्न प्रकारका भाँडावर्तन उत्पादन गर्नेछन्।
उत्पादनमूलक उद्योगलाई प्राथमिकता दिँदै आयात प्रतिस्थापन, राजस्व वृद्धि तथा स्थानीय अर्थतन्त्रलाई चलायमान बनाउने उद्देश्यले नयाँ उद्योगसँग सम्झौता गरिएको बञ्जाडेको भनाइ छ। उद्योग सञ्चालनमा आएपछि स्वदेशी बजारको माग पूर्ति हुनुका साथै केही उत्पादन निर्यात गर्ने सम्भावना पनि रहेको उनले बताए। हाल धरान औद्योगिक क्षेत्रमा प्लास्टिकजन्य पाइप, खाद्यान्न, धातुजन्य सामग्री, होजियारी तथा डेरीजन्य वस्तु उत्पादन गर्ने उद्योग सञ्चालनमा छन्।
विसं २०२९ मङ्सिर २६ गते शिलान्यास भई विसं २०३२ पुस १ गतेदेखि सञ्चालनमा आएको धरान औद्योगिक क्षेत्र धरान उपमहानगरपालिका–८, तीनकुनेमा अवस्थित छ। २०२ रोपनी क्षेत्रफलमा फैलिएको यस औद्योगिक क्षेत्रमध्ये १४३ रोपनी १४ आना जग्गा भाडामा दिइएको छ भने करिब ५५ रोपनीभन्दा बढी क्षेत्र उपयोगिता (युटिलिटी) सेवाका लागि प्रयोग गरिएको छ।
हाल औद्योगिक क्षेत्रमा ३५ उद्योग रहेका छन्। तीमध्ये ३० उद्योग सञ्चालनमा छन् भने पाँच उद्योग निर्माणको अन्तिम चरणमा छन्। सञ्चालनमा रहेका उद्योगहरूमा ८०० पुरुष र २०० महिला गरी करिब एक हजार जनाले प्रत्यक्ष रोजगारी पाएका छन्। औद्योगिक क्षेत्रमा निजी क्षेत्रबाट करिब दुई अर्ब रुपैयाँ र सरकारी क्षेत्रबाट करिब एक अर्ब ७० करोड रुपैयाँभन्दा बढी लगानी रहेको कार्यालयले जनाएको छ।

