दश खेलाडीमा सीमित इंग्ल्यान्डले मेक्सिकोलाई हराउँदै विश्वकपको क्वार्टरफाइनलमा

काठमाडौं, २२ असार – गोल, पेनाल्टी, भिएआर निर्णय र रातो कार्डले भरिएको रोमाञ्चक खेलमा दश खेलाडीमा सीमित इंग्ल्यान्डले सहआयोजक मेक्सिकोलाई ३–२ गोलअन्तरले पराजित गर्दै फिफा विश्वकप–२०२६ को क्वार्टरफाइनलमा स्थान सुरक्षित गरेको छ। मेक्सिकोको अज्टेका स्टेडियममा सोमबार बिहान सम्पन्न राउन्ड अफ १६ को खेलमा इंग्ल्यान्डका लागि जुड बेलिङहमले दुई तथा कप्तान ह्यारी केनले एक गोल गरे। मेक्सिकोका जुलियन क्विनोनेस र राउल जिमिनेजले एक–एक गोल फर्काए।

यस जितसँगै इंग्ल्यान्डले अन्तिम आठमा स्थान बनाएको छ। अब सेमिफाइनल प्रवेशका लागि इंग्ल्यान्डले नर्वेसँग प्रतिस्पर्धा गर्नेछ। यता, समूह चरण र राउन्ड अफ ३२ सम्म शतप्रतिशत जित निकाल्दै एक गोल पनि नखाएको सहआयोजक मेक्सिकोको यात्रा भने अन्तिम १६ मै टुंगिएको छ। यससँगै मेक्सिको यस संस्करणको विश्वकपबाट बाहिरिने दोस्रो आयोजक राष्ट्र बनेको छ। यसअघि सहआयोजक क्यानडा पनि अन्तिम १६ बाटै बाहिरिएको थियो।

Facebook Comments Box