काठमाडौँ उपत्यका विश्वकै प्रदूषित सहर मध्ये दोस्रो स्थानमा

काठमाडौँ, २० चैत – काठमाडौँ उपत्यका १ महिनादेखि विश्वकै प्रदूषित सहरमा सूचीकृत भइरहेको छ। विश्वका प्रमुख सहरहरूमध्ये काठमाडौँको वायु सबैभन्दा बढी प्रदूषित रहेको एअर क्वालिटी इन्डेक्स (एक्यूआई)ले गरेको मापनले देखाएको छ।

२ दिनदेखि काठमाडौँ उपत्यकाको वायु गुणस्तर विश्वका प्रदूषित सहरमध्ये दोस्रो स्थानमा रहेको छ। काठमाडौँको एअर क्वालिटी इन्डेक्स चैत्र १८ गते २३९ पुगेको थियो। मंगलबार बढेर २५६ पुग्यो। एअर क्वालिटी इन्डेक्स अनुसार उपत्यकाको हावा अति अस्वस्थ छ। प्रदूषित सहरहरूमा दोस्रो स्थानमा भारतको दिल्ली पहिलो, तेस्रो स्थानमा थाइल्यान्डको चियाङ माइ र चौथोमा बङ्गलादेशको ढाका रहेको छ।

उपत्यकाका तीन जिल्लामध्ये भक्तपुर बढी प्रदूषित रहेको देखिन्छ। भक्तपुरको बालकोट, सूर्यविनायक, मध्यपुर ठिमी, सल्लाघारी, चाँगुनारायण, ताथली क्षेत्रको एक्यूआई बढी छ। काठमाडौँको नागार्जुन क्षेत्रको बोहराटारमा सबैभन्दा बढी एक्यूआई २८५ रहेको छ। यस्तै ललितपुरको भैँसेपाटी, जावलाखेल क्षेत्र पनि बढी प्रदूषित छन्।

प्रदूषण मापनमा शून्यदेखि ५० सम्मको एक्यूआईलाई राम्रो मानिन्छ भने ५१ देखि १०० सम्मको एक्यूआईलाई सतर्क रहनुपर्ने रूपमा लिइन्छ। १०१ देखि १५० सम्मलाई हुनुलाई श्वाप्रश्वास र मुटु रोगका बिरामीलाई असर गर्छ भन्ने बुझिन्छ। १५१ देखि २०० सम्मको एक्यूआईलाई अस्वस्थकर मानिन्छ। २०१ देखि ३०० सम्मको वायुलाई अति अस्वस्थ वायु भनेर बुझिन्छ। ३०१ देखि ४०० सम्मलाई खतरनाक र ४०१ देखि ४५० लाई अति खतरा मानिन्छ।

‘भिजिबिलिटी’ कमजोर हुँदा चैत्र १८ गते (सोमबार) अन्तर्राष्ट्रिय उडानतर्फका कम्तीमा आधा दर्जन विमान डाइभर्ट भए। बाक्लो तुँवालोका कारण न्यून भिजिबिलिटी हुँदा विभिन्न एयरलाइन्सका कम्तीमा आधा दर्जन विमान डाइभर्ट भएको थिए।

Facebook Comments Box