सचिवको निजी सचिवालयमा बस्न दबाव दिएको भन्दै महिला कर्मचारीले छोडिन् जागिर
२४ चैत, धनगढी । सुदूरपश्चिम प्रदेशको मुुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका प्रमुख सचिव रामेश्वर दंगालले शाखा परिवर्तन गर्न दबाव दिएको भन्दै एक महिला कर्मचारीले जागिर छाडेकी छन् ।
मुख्यमन्त्री कार्यालयको लेखा शाखामा कार्यालय सहयोगीका रुपमा कार्यरत एक महिला कर्मचारीले आफूलाई प्रमुख सचिव दंगालको निजी सचिवालयमा बसेर काम गर्न दबाव दिएकाले जागिर छोडेको बताएकी हुन् ।
‘जोशी सर (मुख्यमन्त्री कार्यालयका सहप्रवक्ता तथा सूचना अधिकारी जगदीश जोशी) ले मलाई बोलाएर प्रमुख सचिव ज्यूको निजी सचिवालयमा कार्यरत नवराज बोहराको ठाउँमा तपाईंलाई पठाउनुुपर्यो । उहाँ तपाईंको ठाउँमा आउनुुहुन्छ भनेर भन्नुभयो,’ ती महिलाले भनिन्, ‘तर मैले आफू विगतदेखि लेखा फाँटमा कार्यरत भएकाले यहीँ काम गर्छु भन्दा पटक–पटक निजी सचिवालयमै गर्नुपर्छ भनेर टर्चर गरेपछि जागिर छाडेकी हुँ ।’
सहप्रवक्ता जोशीले भने महिला कर्मचारीलाई प्रमुख सचिवको निजी सचिवालयमा खटाउने विषयमा आफूले उनीसँग कुरा गरेको तर अनावश्यक दबाव वा टर्चर नदिएको बताए । ‘प्रमुख सचिव ज्यूको आदेशअनुसार कार्य विभाजन गर्ने क्रममा उहाँलाई निजी सचिवालयमा खटाउने कुुरा भएको हो,’ जोशीले अनलाइनखबरसँग भने, ‘तर उहाँ मात्र नभएर अन्य ७÷८ जना कर्मचारीको साविकको फाँट परिवर्तन गरिएको हो । यो व्यक्तिगतभन्दा पनि अफिसियल कुरा हो ।’

