ट्राफिक कारबाहीबाट एकैदिन २१ लाख रुपैयाँभन्दा बढी राजस्व सङ्कलन
काठमाडौं, १३ असार – काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टामा ट्राफिक नियम उल्लङ्घन गर्ने दुई हजार १०२ जना सवारीचालक कारबाहीमा परेका छन्। उक्त कारबाहीबाट राज्यकोषमा रु २१ लाख १० हजार ५१४ राजस्व सङ्कलन भएको छ। काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार मादक पदार्थ सेवन (मापसे) गरेर सवारी चलाउने ८९ जना, नियमविपरीत ‘राइड सेयरिङ’ गर्ने १०८ जना, ट्राफिक बत्ती उल्लङ्घन गर्ने ९९ जना तथा तीव्र गतिमा सवारी चलाउने ८३ जनामाथि कारबाही गरिएको हो।
त्यस्तै, लेन अनुशासन पालना नगर्ने ५९ जना, निषेधित क्षेत्रमा हर्न बजाउने १०० जना, लागुपदार्थ सेवन गरी सवारी चलाउने दुई जना तथा एकतर्फी सडकमा सवारी चलाउने ७८ जना पनि कारबाहीमा परेका छन्। यसबाहेक, विभिन्न प्रकारका अन्य ट्राफिक नियम उल्लङ्घन गर्ने एक हजार ४८४ जना सवारीचालकलाई पनि कारबाही गरिएको ट्राफिक प्रहरीले जनाएको छ। ट्राफिक प्रहरीले सडक सुरक्षा कायम गर्न नियम उल्लङ्घन गर्ने सवारीचालकमाथि नियमित अनुगमन र कारबाहीलाई निरन्तरता दिइने जनाएको छ।

