रास्वपा महाधिवेशनको बन्दसत्र आज, प्रतिनिधि परिचयपत्र वितरणपछि कार्यक्रम सुरु हुने

चितवन, असार ९ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम महाधिवेशनअन्तर्गत बन्दसत्र आज आयोजना हुँदैछ। बन्दसत्रका लागि बिहान ७ः०० बजेदेखि महाधिवेशन प्रतिनिधिहरूलाई परिचयपत्र वितरण सुरु गरिएको छ। सोमबार बिहान ८ः३० बजेदेखि सुरु गर्ने तय भएको बन्दसत्र प्राविधिक कारणले एक दिन पछाडि सारिएको थियो। पार्टीका प्रवक्ता मनिष झाले प्रतिनिधिको नामावली रुजु तथा परिचयपत्र छपाइ कार्य समयमै सम्पन्न हुन नसकेकाले बन्दसत्र स्थगित गरिएको जानकारी दिनुभयो।

उहाँका अनुसार महाधिवेशन पार्टीको सर्वोच्च निकाय भएकाले प्रतिनिधि छनोट र प्रमाणीकरण प्रक्रियामा कुनै विवाद नआओस् भन्ने उद्देश्यले आवश्यक तयारी पूरा गर्न समय लिइएको हो। सोमबार साँझदेखि नै परिचयपत्र वितरण सुरु गरिएको र रातभर छापिएका कार्डहरू प्रदेशगत रूपमा आज बिहानदेखि वितरण भइरहेको उहाँले बताउनुभयो। पार्टीले सातै प्रदेश, समायोजन क्षेत्र तथा प्रवासबाट आएका प्रतिनिधिका लागि छुट्टाछुट्टै स्थानबाट परिचयपत्र वितरणको व्यवस्था गरेको जनाएको छ।

रास्वपाका महामन्त्री कविन्द्र बुर्लाकोटीका अनुसार परिचयपत्र वितरण सम्पन्न भएपछि पूर्वनिर्धारित कार्यसूचीअनुसार बन्दसत्र सञ्चालन हुनेछ। बन्दसत्रको प्रारम्भमा अनुशासन आयोगका संयोजक रमाकान्त रिमालले आयोगको प्रतिवेदन प्रस्तुत गर्नेछन्। प्रतिवेदनमाथि छलफलपछि कोषाध्यक्ष लिमा अधिकारीले आर्थिक प्रतिवेदन पेस गर्ने र त्यसमाथि पनि प्रतिनिधिहरूबीच छलफल हुनेछ।

त्यसपछि महामन्त्री बुर्लाकोटीले सङ्गठनात्मक प्रतिवेदन प्रस्तुत गर्ने कार्यक्रम रहेको छ। प्रतिवेदनमाथि छलफल सम्पन्न भएपछि सहमहामन्त्रीद्वारा पार्टी विधानमाथि छलफल गराई अनुमोदन प्रक्रिया अघि बढाइनेछ। विधान अनुमोदनपछि पार्टी सभापति रवि लामिछानेले राजनीतिक प्रतिवेदन प्रस्तुत गर्नेछन्। प्रतिवेदनमाथि छलफल र अनुमोदनपछि सभापति लामिछानेले अन्तरिम व्यवस्थापन समिति गठनको घोषणा गर्ने तथा आयोजक समितिले आफ्नो सम्पूर्ण जिम्मेवारी निर्वाचन आयोगलाई हस्तान्तरण गर्ने कार्यसूची रहेको छ।

यसपछि निर्वाचन आयोगले निर्वाचन प्रक्रिया, आचारसंहिता तथा निर्वाचन तालिका सार्वजनिक गर्नेछ। रास्वपाको प्रथम महाधिवेशनको उद्घाटन सत्र आइतबार चितवनको गेष्टहाउस चौरमा सम्पन्न भएको थियो भने बन्दसत्रका सम्पूर्ण कार्यक्रम उद्योग सङ्घको प्रदर्शनी केन्द्रमा सञ्चालन भइरहेका छन्।

Facebook Comments Box