योगलाई जीवनशैली बनाउन राष्ट्रपतिको आग्रह

काठमाडौँ, ७ असार – राष्ट्रपति रामचन्द्र पौडेलले योगलाई स्वस्थ, सन्तुलित र सकारात्मक जीवनका लागि प्रभावकारी माध्यम भएको उल्लेख गर्दै यसलाई दैनिक जीवनशैलीका रूपमा अपनाउन सबैलाई आह्वान गर्नुभएको छ। बाह्रौँ अन्तरराष्ट्रिय योग दिवसका अवसरमा शुभकामना सन्देश जारी गर्दै राष्ट्रपति पौडेलले स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइमा सुख, शान्ति, समृद्धि र सुस्वास्थ्यको शुभकामना व्यक्त गर्नुभएको हो।

उहाँले योगलाई शरीर, मन र आत्माबीच सन्तुलन कायम गर्ने समग्र अभ्यासका रूपमा व्याख्या गर्दै ध्यान, प्राणायाम र शारीरिक आसनहरूको संयोजनले मानिसलाई शारीरिक तथा मानसिक रूपमा स्वस्थ राख्न सहयोग पुग्ने बताउनुभयो। योग, ध्यान र साधनाले तनाव कम गर्नुका साथै सकारात्मक ऊर्जा प्रवाह गर्न महत्वपूर्ण भूमिका खेल्ने उहाँको भनाइ छ।

राष्ट्रपति पौडेलले योगसम्बन्धी अध्ययन, अनुसन्धान तथा ऐतिहासिक–पुरातात्त्विक प्रमाणहरूले नेपाललाई योगभूमिका रूपमा चिनाउँदै आएको उल्लेख गर्नुभयो। योगलाई राष्ट्रिय नीति, शैक्षिक पाठ्यक्रम र जनस्वास्थ्य प्रणालीको अभिन्न अङ्गका रूपमा विकास गर्न आवश्यक रहेकोमा उहाँले जोड दिनुभएको छ।

योग अभ्यासले दैनिक कार्यक्षमता अभिवृद्धि गर्ने, रोग प्रतिरोधात्मक क्षमता बलियो बनाउने, पाचन प्रणालीलाई सुदृढ गर्ने तथा सकारात्मक सोचको विकास गराउने विश्वास व्यक्त गर्दै उहाँले योगले ज्ञान, कर्म, चेतना र स्थिरतातर्फ उन्मुख गराउने बताउनुभयो। सन्देशमा उहाँले आधुनिक जीवनशैलीका कारण बढ्दो तनाव, प्रदूषण र प्रतिस्पर्धाको प्रभावबाट मानव जीवनलाई सहज, स्वस्थ र सन्तुलित बनाउन योगको भूमिका महत्वपूर्ण रहेको उल्लेख गर्नुभएको छ।

हजारौँ वर्ष पुरानो पूर्वीय ज्ञान र संस्कृतिको अमूल्य सम्पदाका रूपमा रहेको योगले विश्वभर शान्ति, स्वास्थ्य र एकताको सन्देश प्रवाह गरिरहेको उहाँले बताउनुभयो। राष्ट्रपति पौडेलले अन्तरराष्ट्रिय योग दिवसले सबैमा सकारात्मक ऊर्जा सञ्चार गर्दै शारीरिक, मानसिक, भावनात्मक र आध्यात्मिक रूपमा स्वस्थ तथा सुखी जीवन बिताउन प्रेरणा प्रदान गरोस् भन्ने शुभकामना व्यक्त गर्नुभएको छ।

Facebook Comments Box