पर्यटकीय आकर्षणको केन्द्र बन्दै इटहरीको तालतलैया

सुनसरी, ७ असार – गर्मी बढेसँगै सुनसरीको इटहरी उपमहानगरपालिका–२ र ३ मा अवस्थित तालतलैया शीतलता खोज्ने आन्तरिक तथा भारतीय पर्यटकहरूको प्रमुख गन्तव्यका रूपमा स्थापित हुँदै गएको छ। मोरङको पथरीबाट घुम्न आएका विकास खड्काले तालतलैयाको प्राकृतिक सौन्दर्य, हरियाली वातावरण र बोटिङ सुविधाले आफूहरूलाई आकर्षित गरेको बताउनुभयो। उहाँका अनुसार गर्मी मौसममा साथीभाइसँग समय बिताउन यो उपयुक्त स्थल बनेको छ।

करिब २१.५ हेक्टर क्षेत्रफलमा फैलिएको तालतलैया हरियाली वन क्षेत्र, जलाशय र मनोरञ्जनात्मक पूर्वाधारका कारण पूर्वी तराईको लोकप्रिय पर्यटकीय गन्तव्यका रूपमा विकास भइरहेको छ। तालतलैया व्यवस्थापन समितिका अध्यक्ष गङ्गाबहादुर रायमाझीका अनुसार गर्मी सुरु भएसँगै पर्यटक आगमनमा उल्लेख्य वृद्धि भएको छ। सामान्य अवस्थामा दैनिक करिब ५०० जना पर्यटक आउने गरेकामा हाल दैनिक २,५०० भन्दा बढी पर्यटक पुग्न थालेका छन्।

उहाँका अनुसार यहाँ आउनेमध्ये करिब ४० प्रतिशत पर्यटक सीमावर्ती भारतीय सहरबाट आउने गरेका छन्। पछिल्लो समय अत्यधिक गर्मीका कारण सिरहा, सप्तरीलगायत तराईका जिल्लाबाट पनि पर्यटकको आगमन बढेको छ। तालतलैयाभित्र रहेका छवटा पोखरीमध्ये दुईवटा पोखरीमा मोटरबोट सञ्चालन गरिएको छ। शीतल हावासँगै जलयात्राको अनुभव लिन पाइने भएकाले बोटिङ पर्यटकको मुख्य रोजाइ बनेको छ।

मोरङको कानेपोखरीबाट घुम्न आएकी रविना थापाले फराकिलो खुला क्षेत्र, बोटिङ, फोटो स्पट, चिडियाखाना र फूलबारीले तालतलैयालाई विशेष बनाएको बताउनुभयो। उहाँका अनुसार भेडेटारको विकल्पका रूपमा अहिले तालतलैया रोज्नेहरूको सङ्ख्या बढिरहेको छ।पर्यटकका लागि तालतलैयाभित्र चौतारा, बगैँचा, नर्सरी तथा विश्रामस्थल निर्माण गरिएका छन्।

यहाँ रहेको चिडियाखानामा दुम्सी, मयुर, गिद्ध, चित्तल, हाँस, घोडा र बाँदरलगायतका जनावर तथा चराचुरुङ्गी अवलोकन गर्न सकिन्छ। बालबालिकाका लागि चिल्ड्रेन पार्क र पानीको फोहोरा (वाटर फाउन्टेन) समेत सञ्चालनमा रहेकाले बिदाका दिन परिवारसहित आउने आगन्तुकको सङ्ख्या पनि उल्लेख्य रहने गरेको छ।

आर्थिक वर्ष २०८१/८२ मा सहरी विकास मन्त्रालयबाट प्राप्त ८५ लाख रुपैयाँको बजेटबाट पर्यटकमैत्री संरचना, आधुनिक शौचालय तथा चिडियाखानाको स्तरोन्नति गरिएको व्यवस्थापन समितिले जनाएको छ। पर्यटकको चहलपहल बढेसँगै स्थानीय व्यवसाय पनि फस्टाएको छ। स्थानीय व्यापारी इन्दु राणाका अनुसार गर्मी मौसममा चटपटे, मःम, चाउमिन तथा चिसो पेय पदार्थको व्यापार उल्लेखनीय रूपमा बढेको छ।

सङ्घीय र प्रदेश सरकारको सहयोगमा तालतलैयामा विभिन्न भौतिक संरचनाको मर्मत, जनावरको बासस्थान संरक्षण तथा कलात्मक मूर्ति निर्माणका कामसमेत सम्पन्न भएका छन्। एकैपटक ७० भन्दा बढी समूहले वनभोज गर्न सक्ने क्षमता रहेको तालतलैया पूर्वी नेपालको प्रमुख मनोरञ्जन, वनभोज तथा आन्तरिक पर्यटन गन्तव्यका रूपमा विस्तार हुँदै गएको छ।

Facebook Comments Box