वर्षा, बाढी र पहिरोका कारण देशका विभिन्न राजमार्ग प्रभावित

काठमाडौँ, ६ असार – पछिल्ला केही दिनयता भइरहेको वर्षा, बाढी, पहिरो तथा सडक मर्मत कार्यका कारण देशका विभिन्न प्रमुख राजमार्गमा सवारी आवागमन प्रभावित भएको छ। सडक विभागको पछिल्लो विवरणअनुसार आज बिहानसम्म कोशी, बागमती र गण्डकी प्रदेशका विभिन्न सडक खण्डमा पूर्ण तथा आंशिक अवरोध कायम रहेको छ। कोशी प्रदेशमा बाढीका कारण तीन स्थानका प्रमुख सडक प्रभावित भएका छन्।

भोजपुर नगरपालिका–५ बोखिम र पाँचथरको याङ्वरक गाउँपालिका–२ दोभान क्षेत्रमा मध्यपहाडी लोकमार्गमा बाढीले क्षति पुर्‍याएको छ। त्यस्तै, इलाम नगरपालिका–९ राजदुवाली क्षेत्रमा बाढीका कारण मेची राजमार्ग प्रभावित बनेको छ। यी तीनवटै सडक खण्डमा हाल एकतर्फी मात्र यातायात सञ्चालन भइरहेको छ।

बागमती प्रदेशमा सम्भावित बाढीको जोखिमलाई ध्यानमा राख्दै बीपी राजमार्गअन्तर्गत खुर्कोट–नेपालथोक–कटुञ्जेबेंसी सडक खण्डमा सवारी साधन सञ्चालन पूर्ण रूपमा रोकिएको छ। यस्तै, मकवानपुरको कुलेखानी–फाखेल–हुमाने–फर्पिङ हुँदै काठमाडौँ जोड्ने सडक खण्डमा मर्मत कार्य जारी रहेकाले आगामी एक महिनासम्मका लागि यातायात सञ्चालन बन्द गरिएको छ।

सम्बन्धित निकायले यात्रु तथा सवारी चालकलाई वैकल्पिक मार्ग प्रयोग गर्न आग्रह गरेको छ। गण्डकी प्रदेशमा पहिरोका कारण दुई महत्वपूर्ण सडक खण्ड पूर्ण रूपमा अवरुद्ध भएका छन्। लमजुङको बेसीसहर नगरपालिका–६ खरखरे भिरमा खसेको पहिरोले बेसीसहर–मनाङ सडक खण्ड बन्द भएको छ।

त्यसैगरी, नवलपरासी (पूर्व) को गैंडाकोट नगरपालिका–३ घोक्रफाँट क्षेत्रमा आज बिहान खसेको पहिरोका कारण कालीगण्डकी करिडोरमा पनि यातायात पूर्ण रूपमा अवरुद्ध भएको छ।सडक विभागले अवरुद्ध सडक खुलाउने प्रयास भइरहेको जनाएको छ भने यात्रा गर्नुअघि सम्बन्धित सडकको अवस्थाबारे जानकारी लिएर मात्र यात्रा गर्न सर्वसाधारणलाई आग्रह गरेको छ।

Facebook Comments Box