भोटो देखाइएसँगै शनिबार रातो मच्छिन्द्रनाथको रथयात्रा सम्पन्न हुने

ललितपुर, ५ असार – नेपालको सबैभन्दा लामो तथा ऐतिहासिक सांस्कृतिक–धार्मिक पर्वमध्ये एक मानिने रातो मच्छिन्द्रनाथको रथयात्रा शनिबार भोटो देखाउने जात्रासँगै औपचारिक रूपमा सम्पन्न हुने भएको छ। ललितपुर महानगरपालिका–४ का वडाध्यक्ष सन्तोष खड्काका अनुसार जावलाखेलस्थित ललित मण्डपमा राष्ट्र प्रमुखको उपस्थितिमा भोटो प्रदर्शन गरिनेछ। भोटो जात्राको सम्पूर्ण तयारी अन्तिम चरणमा पुगेको र हरेक वर्षझैँ यस वर्ष पनि सर्वसाधारण तथा विशिष्ट अतिथिलाई भोटो देखाइने उहाँले जानकारी दिनुभयो।

वैशाख शुक्ल प्रतिपदादेखि सुरु भएको रथयात्रामा रातो मच्छिन्द्रनाथको मूर्तिलाई ३२ हात अग्लो रथमा विराजमान गराई पुल्चोक, मंगलबजार, सुन्धारा, लगनखेल, कुमारीपाटीलगायत क्षेत्रको परिक्रमा गराउँदै जावलाखेल पुर्‍याइएको थियो। परम्पराअनुसार रथ जावलाखेल पुगेको चौथो दिन भोटो देखाउने जात्रा आयोजना गरिन्छ।

संस्कृतिविद्का अनुसार वर्षा र सहकालका देवताका रूपमा पूजिने रातो मच्छिन्द्रनाथको जात्रा करिब १,६०० वर्ष पुरानो मानिन्छ। यो जात्रा नेपालको महत्वपूर्ण सांस्कृतिक सम्पदामध्ये एक हो। राजतन्त्रकालमा भोटो जात्रामा राजाको उपस्थिति रहने परम्परा थियो भने गणतन्त्र स्थापना भएपछि राष्ट्रपतिले उक्त समारोहमा सहभागिता जनाउँदै आउनुभएको छ।

भोटो देखाउने कार्यक्रम सम्पन्न भएपछि रातो मच्छिन्द्रनाथको मूर्तिलाई परम्परागत कलात्मक खटमा राखी बाजागाजासहित जावलाखेलबाट बुङ्मतीस्थित मच्छिन्द्रबहालमा लगेर विराजमान गराइने परम्परा रहेको छ। वडाध्यक्ष खड्काले यस वर्षको रथयात्रा शान्तिपूर्ण, व्यवस्थित र सफलतापूर्वक सम्पन्न भएको बताउँदै भोटो जात्रामा सहभागी हुने भक्तजन तथा दर्शकलाई सुरक्षा र व्यवस्थापनमा सहयोग गर्न आग्रह गर्नुभएको छ। साथै जावलाखेल क्षेत्रमा फुटपाथ व्यापार नगर्न सम्बन्धित सबै पक्षलाई अनुरोध गर्नुभएको छ।

Facebook Comments Box