मेस्सीको ह्याट्रिकमा अर्जेन्टिनाको शानदार सुरुआत
काठमाडौं, ३ असार – कप्तान लियोनल मेस्सीको ह्याट्रिकको मद्दतमा साविक विजेता अर्जेन्टिनाले फिफा विश्वकप–२०२६ मा विजयी सुरुआत गरेको छ। अमेरिकाको कान्सास सिटी रंगशालामा बुधबार बिहान सम्पन्न समूह ‘जे’ को खेलमा अर्जेन्टिनाले अल्जेरियालाई ३–० गोलअन्तरले पराजित गर्दै प्रतियोगितामा प्रभावशाली सुरुआत गरेको हो।
अर्जेन्टिनाका लागि तीनवटै गोल कप्तान लियोनल मेस्सीले गरे। विश्वकपको छैटौँ संस्करण खेलिरहेका मेस्सीका लागि यो प्रतियोगितामा पहिलो ह्याट्रिक हो। मेस्सीले खेलको १७औँ, ६०औँ र ७६औँ मिनेटमा गोल गर्दै ह्याट्रिक पूरा गरेका थिए। खेलको सुरुमै उनले गरेको अर्को एक गोल भने अफसाइडका कारण मान्यता पाउन सकेन।
त्यस्तै, अल्जेरियाले गरेको एक गोल पनि अफसाइडका कारण रद्द भएको थियो। यो जितसँगै अर्जेन्टिनाले तीन अंक जोड्दै समूह ‘जे’ को शीर्ष स्थानमा उक्लिएको छ। मेस्सीको यो ह्याट्रिकसँगै उनले विश्वकपमा सर्वाधिक गोल गर्ने कीर्तिमानसमेत बराबरी गरेका छन्। विश्वकपमा आफ्नो कुल गोल संख्या १६ पुर्याउँदै उनले जर्मनीका मिरोस्लाभ क्लोसको नाममा रहेको सर्वाधिक १६ गोलको कीर्तिमान बराबरी गरेका हुन्।
सन् २००६ मा विश्वकपमा पहिलो पटक खेलेका मेस्सीले अल्जेरियाविरुद्ध मैदान उत्रिएसँगै विश्वकपका छ संस्करण खेल्ने पहिलो खेलाडीको कीर्तिमान पनि बनाएका थिए। उनले सन् २०१० को विश्वकपबाहेक अन्य पाँच विश्वकपमा गोल गर्न सफल भएका छन्। चार वर्षअघि कतारमा सम्पन्न विश्वकपमा आफ्नै कप्तानीमा अर्जेन्टिनालाई उपाधि दिलाएका मेस्सीले विश्वकपमा कीर्तिमानी २७औँ खेल पनि खेलेका छन्।

