विश्वकप फुटबलः फ्रान्सद्वारा सेनेगल ३–१ गोलअन्तरले पराजित

काठमाडौं,  ३ असार – फिफा विश्वकप फुटबल प्रतियोगिताअन्तर्गत समूह ‘आई’ को खेलमा फ्रान्सले सेनेगललाई ३–१ गोलअन्तरले पराजित गरेको छ। अमेरिकाको न्यूयोर्कस्थित न्यु जर्सी रंगशालामा आज सम्पन्न खेलको पहिलो हाफ बराबरीमा टुङ्गिएको थियो। दोस्रो हाफमा भने दुवै टोलीबाट कुल चार गोल भए।

खेलको ६६औँ मिनेटमा फ्रान्सका लागि किलियन एम्बाप्पेले गोल गर्दै टोलीलाई अग्रता दिलाए। त्यसपछि ८२औँ मिनेटमा ब्राड्ली बारकोलाले गोल थप्दै फ्रान्सको अग्रता दोब्बर बनाए। दोस्रो हाफको अतिरिक्त समयमा सेनेगलका इब्राहिम एम्बायेले सान्त्वना गोल गर्दै खेललाई २–१ को अवस्थामा ल्याए। यद्यपि त्यसको एक मिनेटपछि किलियन एम्बाप्पेले व्यक्तिगत दोस्रो गोल गर्दै फ्रान्सको अग्रता ३–१ मा पुर्‍याए।

एम्बाप्पेको दुई गोलको मद्दतमा फ्रान्सले सेनेगलमाथि प्रभावशाली जित दर्ता गरेको हो। समूह ‘आई’ अन्तर्गत आजै नर्वे र इराक नेपाली समयअनुसार बिहान ३ः४५ बजे प्रतिस्पर्धा गर्नेछन्। त्यसैगरी, समूह ‘जे’ अन्तर्गत अर्जेन्टिना र अल्जेरिया बिहान ६ः४५ बजे तथा अस्ट्रिया र जोर्डन बिहान ९ः४५ बजे आमनेसामने हुनेछन्।

Facebook Comments Box