बर्खा सुरु भएसँगै वस्तुभाउ लिएर लेक उक्लिन थाले गोठाला
बागलुङ, १ असार – बर्खायाम सुरु भएसँगै पश्चिम बागलुङका गोठालाहरू सयौँ वस्तुभाउ लिएर लेक र बुकीपाटनतर्फ उक्लिन थालेका छन्। काँधमा खाद्यान्न र आवश्यक सामग्रीको भारी बोकेका गोठालाहरू भेडा, बाख्रा, गाई र भैँसीका बथानसँगै अग्ला चरन क्षेत्रमा पुगिरहेका छन्। हरेक वर्षझैँ यस वर्ष पनि हिउँदभरि बेँसीमा बसेका गोठालाहरू असार लागेसँगै लेक उक्लिएका हुन्।
पश्चिम बागलुङका निसीखोला, ढोरपाटन, तमानखोला, गलकोटलगायत क्षेत्रका किसानहरू परम्परागत रूपमा लेक–बेँसी प्रणाली अपनाएर पशुपालन गर्दै आएका छन्। बेँसीमा पर्याप्त घाँसको अभाव हुने र वर्षायाममा लेकका खर्क तथा बुकीपाटनमा प्रशस्त चरन उपलब्ध हुने भएकाले गोठालाहरू चार महिनासम्म त्यहीँ बस्ने गर्छन्। उनीहरू असोजसम्म पुग्ने खाद्यान्न, लत्ताकपडा तथा आवश्यक सामग्री बोकेर समुद्री सतहदेखि तीन हजारदेखि चार हजार आठ सय मिटर उचाइसम्मका चरन क्षेत्रमा पुग्छन्।
लेकमा टेलिफोन र विद्युत्को सुविधा नहुँदा गोठालाहरू लामो समय परिवारसँग सम्पर्कविहीन रहने गर्छन्। बिरामी परेमा, अत्यावश्यक काम परेमा वा अन्य आकस्मिक अवस्था आएमा मात्रै उनीहरू बीचमा बेँसी झर्ने गर्छन्। निसीखोला गाउँपालिका–५ का किरबहादुर घर्ती मगरका अनुसार बेँसीमा गर्मी बढ्ने र घाँसको अभाव हुने भएकाले वस्तुभाउलाई चराउन लेक लैजानुपर्छ। एक ठाउँमा केही समय बसेपछि चरनको अवस्थाअनुसार अर्को क्षेत्रमा सर्ने गरिएको उहाँले बताउनुभयो।
लेकमा बस्दा गोठालाहरू पशुपालनसँगै काठका भाँडाकुँडा तथा चायोबाट विभिन्न सामग्री बनाउने काम पनि गर्छन्। ती सामग्री असोजमा गाउँ फर्किएपछि बिक्री गरिन्छ।तमानखोला गाउँपालिका–५ का शेरबहादुर सिर्पालीले घरायसी काम र परिवारका कारण यस वर्ष लेक उक्लिन केही ढिला भएको बताउँदै अब दुई दिनभित्र बुकीपाटन पुग्ने जानकारी दिनुभयो। ढोरपाटनको बुकीपाटन क्षेत्रमा बागलुङका साथै रोल्पा, रुकुम, म्याग्दी र डोल्पाका किसानहरू पनि भेडाबाख्रा चराउन आउने गर्छन्।
ढोरपाटन नगरपालिका–६ का पुनराम अदैका अनुसार अधिकांश गोठाला अबको केही दिनभित्रै लेक पुगिसक्नेछन्। उहाँले दशकौँदेखि चलिआएको लेक–बेँसीको परम्परा अझै कायम रहेको बताउँदै बर्खाभरि बुकीपाटनमा बस्ने र असोज लागेपछि मात्रै गाउँ फर्किने बताउनुभयो। अहिले बुकीपाटन क्षेत्रमा गोठालाहरूको चहलपहल बढ्न थालेको छ भने केही दिनमै चरन क्षेत्र भरिभराउ हुने अपेक्षा गरिएको छ।

