विश्वकपमा जर्मनीको शानदार सुरुआत, कुरासाओमाथि ७–१ को फराकिलो जित

काठमाडौँ, १ असार – फिफा विश्वकप फुटबल २०२६ अन्तर्गत आज भएको खेलमा चार पटकको विश्वविजेता जर्मनीले कुरासाओलाई ७–१ गोलअन्तरले पराजित गर्दै प्रतियोगितामा उत्कृष्ट सुरुआत गरेको छ। अमेरिकाको ह्युस्टनस्थित रंगशालामा सम्पन्न समूह ‘ई’ को खेलमा जर्मनीले पहिलो हाफमा तीन तथा दोस्रो हाफमा चार गोल गर्दै एकतर्फी जित दर्ता गरेको हो।

जर्मनीका लागि काई हाभर्ट्जले दुई गोल गरे भने फेलिक्स एनमेचा, निको स्लोटरबेक, जमाल मुसियाला, नाथनियल ब्राउन र डेनिज उन्डाभले समान एक–एक गोल गरे। खेलको छैटौँ मिनेटमै एनमेचाले गोल गर्दै जर्मनीलाई अग्रता दिलाएका थिए। २१औँ मिनेटमा कुरासाओका लिभानो कोमेनेन्सियाले गोल गर्दै खेल १–१ को बराबरीमा ल्याए। तर त्यसपछि जर्मनीले लगातार दबाब सिर्जना गर्दै ३८औँ मिनेटमा स्लोटरबेकको गोलमार्फत पुनः अग्रता लियो।

पहिलो हाफको अतिरिक्त समयमा हाभर्ट्जले पेनाल्टीमार्फत गोल गर्दै जर्मनीलाई ३–१ को अवस्थामा पुर्‍याए। दोस्रो हाफमा मुसियालाले ४७औँ मिनेटमा गोल गरे भने ६८औँ मिनेटमा ब्राउनले अर्को गोल थपे। त्यसपछि ७८औँ मिनेटमा उन्डाभले गोल गरे भने हाभर्ट्जले ८८औँ मिनेटमा व्यक्तिगत दोस्रो गोल गर्दै जर्मनीको जितलाई ७–१ मा पुर्‍याए। यस प्रभावशाली जितसँगै जर्मनीले समूह ‘ई’ मा तीन अंक जोड्दै विश्वकप अभियानको सुखद सुरुआत गरेको छ।

Facebook Comments Box