आजको मौसम : देशभर साधारणतया बदली, केही स्थानमा वर्षाको सम्भावना
काठमाडौँ, २८ जेठ – नेपालमा हाल उपल्लो वायुमण्डलमा रहेको पश्चिमी चापीय रेखा तथा स्थानीय वायुको प्रभाव कायम रहेको छ। यही प्रणालीको प्रभावका कारण बुधबार देशका अधिकांश क्षेत्रमा हल्का वर्षा भएको थियो। जल तथा मौसम विज्ञान विभागका अनुसार आज देशभर साधारणतया बदली रहने सम्भावना छ।
विभागले जारी गरेको मौसम पूर्वानुमानअनुसार कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका हिमाली तथा पहाडी भू–भागका केही स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा हुन सक्ने सम्भावना रहेको छ। साथै मधेस प्रदेश तथा कोशी, बागमती र गण्डकी प्रदेशका तराई क्षेत्रका केही स्थानमा पनि वर्षाको सम्भावना रहेको विभागले जनाएको छ।
त्यसैगरी कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली तथा पहाडी भू–भागका थोरै स्थान तथा लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई क्षेत्रका एक–दुई स्थानमा पनि मेघगर्जन, चट्याङसहित वर्षा हुन सक्ने अनुमान गरिएको छ। उच्च हिमाली क्षेत्रमा हल्का हिमपातको सम्भावना समेत रहेको विभागको भनाइ छ। मौसमविद्ले मेघगर्जन, चट्याङ तथा वर्षाका कारण दैनिक जनजीवन, सडक तथा हवाई यातायातमा आंशिक प्रभाव पर्न सक्ने भएकाले आवश्यक सतर्कता अपनाउन सर्वसाधारणलाई आग्रह गरेका छन्।

