फ्लाई दुबईलाई पोखरा–दुबई सिधा उडानको अनुमति, सेप्टेम्बर २३ देखि दैनिक सेवा

गण्डकी, २७ जेठ – संयुक्त अरब इमिरेट्सको वायुसेवा कम्पनी फ्लाई दुबईले पोखरा–दुबई सिधा हवाई उडान सञ्चालन गर्ने अनुमति प्राप्त गरेको छ। नेपाल नागरिक उड्डयन प्राधिकरणले आगामी सेप्टेम्बर २३ देखि दुबई–पोखरा–दुबई दैनिक उडानका लागि कम्पनीलाई अनुमति दिएको हो। पोखरा अन्तरराष्ट्रिय विमानस्थलका महाप्रबन्धक जगन्नाथ निरौलाका अनुसार फ्लाई दुबईको उडान तालिका स्वीकृत भइसकेको छ। उहाँले सेप्टेम्बर २३ देखि दैनिक नियमित अन्तरराष्ट्रिय उडान सुरु हुने जानकारी दिनुभयो।

उडान अनुमति प्राप्त गर्नुअघि फ्लाई दुबईको प्राविधिक टोलीले पोखरा अन्तरराष्ट्रिय विमानस्थलको सुरक्षा, सेफ्टी तथा सञ्चालन व्यवस्थाको विस्तृत निरीक्षण गरेको थियो। सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ को नीति तथा कार्यक्रममा पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा विदेशी वायुसेवा कम्पनीलाई आकर्षित गर्न कूटनीतिक पहल गर्ने घोषणा गरेको केही समयपछि फ्लाई दुबईले उडान अनुमति पाएको हो।

पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले यसलाई पोखरा अन्तरराष्ट्रिय विमानस्थलका लागि महत्वपूर्ण उपलब्धि भएको बताउनुभयो। उहाँका अनुसार नियमित अन्तरराष्ट्रिय उडान सुरु हुनु पर्यटन प्रवर्द्धन, आर्थिक गतिविधिको विस्तार तथा काठमाडौँ केन्द्रित हवाई चाप कम गर्ने दिशामा महत्त्वपूर्ण कदम हुनेछ। उहाँले दुबईसँग प्रत्यक्ष हवाई सम्पर्क स्थापित भएपछि मध्यपूर्व, युरोप, अफ्रिका लगायत विश्वका ३०० भन्दा बढी सहरसँग पोखराको पहुँच विस्तार हुने विश्वास व्यक्त गर्नुभयो।

झण्डै २२ अर्ब रुपैयाँ ऋण लगानीमा निर्माण भएको पोखरा अन्तरराष्ट्रिय विमानस्थल सन् २०२३ जनवरी १ मा उद्घाटन गरिएको थियो। तर हालसम्म नियमित अन्तरराष्ट्रिय उडान सञ्चालन हुन नसक्दा विमानस्थल मुख्यतः आन्तरिक उडानमै सीमित रहेको छ।  यसअघि निजी वायुसेवा कम्पनी हिमालय एयरलाइन्सले पोखरा–ल्हासा नियमित व्यावसायिक उडान सञ्चालन गरे पनि सेवा लामो समय टिक्न सकेको थिएन।

पोखरालाई अन्तरराष्ट्रिय हवाई सञ्जालमा जोड्ने दीर्घकालीन लक्ष्य पूरा हुने अपेक्षासहित पर्यटन तथा व्यवसाय क्षेत्रले फ्लाई दुबईको नियमित उडानलाई सकारात्मक रूपमा लिएका छन्। पर्यटन व्यवसायीहरूका अनुसार अन्तरराष्ट्रिय विमानस्थल सञ्चालनमा आएपछि पोखराको पर्यटन क्षेत्रमा करिब एक खर्ब रुपैयाँ बराबरको थप लगानी भित्रिएको छ।

व्यवसायीहरूले पोखराबाट अन्तरराष्ट्रिय उडान विस्तारका लागि नीतिगत सहजीकरण, भारत र चीनका प्रमुख सहरमा नियमित उडान अनुमति तथा थप विदेशी वायुसेवा कम्पनीलाई आकर्षित गर्ने वातावरण निर्माण गर्न सरकारसँग माग गर्दै आएका छन्।

Facebook Comments Box