सार्वजनिक सेवा प्रसारण संस्थाको अध्यक्षका लागि २८ जनाको आवेदन स्वीकृत
काठमाडौं, १९ जेठ – सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले सार्वजनिक सेवा प्रसारण संस्थाको अध्यक्ष पदका लागि आवेदन दिएका २८ जना उम्मेदवारको दरखास्त स्वीकृत गरेको छ। मन्त्रालयले मंगलबार सूचना जारी गर्दै अध्यक्ष पदका लागि रितपूर्वक आवेदन दिएका उम्मेदवारहरूको स्वीकृत नामावली सार्वजनिक गरेको हो।
मन्त्रालयले गत जेठ ७ गते पहिलोपटक अध्यक्ष पदका लागि दरखास्त आह्वान गरेको थियो। उक्त सूचना भोलिपल्ट रद्द गरी जेठ ९ गते पुनः नयाँ सूचना जारी गरिएको थियो। सार्वजनिक सेवा प्रसारण संस्थाको अध्यक्ष पदमा नियुक्तिका लागि सिफारिस सम्बन्धी कार्यविधि, २०८३ को दफा ४(१) को खण्ड (ख) बमोजिम प्राप्त आवेदनहरूको मूल्याङ्कनपछि योग्य उम्मेदवारहरूको सूची सार्वजनिक गरिएको मन्त्रालयले जनाएको छ।
स्वीकृत नामावलीमा अमरध्वज लामा, अच्युतकुमार पोखरेल, पुनम पौडेल, केदारनाथ कोइराला, डा. मधुसुधन न्यौपाने, आलोककुमार तिवारी, लक्ष्मण हुमागाईं, पुष्करराज गौतम, भुवनप्रसाद आचार्य र उत्तरसिंह विष्ट रहेका छन्। त्यस्तै मनोहरी थापा, सुरेश शर्मा, चिन्तामणि बराल, बुद्धिबहादुर केसी, नवराज सापकोटा, रुद्रबहादुर खड्का, तिलकजंग बुढाथोकी, हिक्मतबहादुर रावल, विश्वराज खनाल र शरदचन्द्र अधिकारीको नाम पनि स्वीकृत सूचीमा समावेश छ।
यसैगरी सुभाषकुमार साह वियोगी, प्रद्युम्न पौडेल, भेषराज पाण्डे, कुमारी निमा काफ्ले, शिशिर पौडेल, गोविन्द भण्डारी, विवेक रेग्मी र धनबहादुर मिजारको आवेदन पनि स्वीकृत भएको मन्त्रालयले जनाएको छ। मन्त्रालयले अब कार्यविधिअनुसार छनोट प्रक्रिया अगाडि बढाइने जनाएको छ।


