बेंगलुरुले लगातार दोस्रो पटक आईपीएल उपाधि जित्यो

काठमाडौं, १७ जेठ – साविक विजेता रोयल च्यालेन्जर्स बेंगलुरुले इन्डियन प्रिमियर लिग (आईपीएल) २०२६ को उपाधि जितेको छ। आइतबार भएको फाइनलमा गुजरात टाइटन्सलाई ५ विकेटले पराजित गर्दै बेंगलुरुले लगातार दोस्रो पटक उपाधि आफ्नो नाममा पारेको हो।अहमदाबादस्थित नरेन्द्र मोदी स्टेडियममा भएको फाइनल खेलमा गुजरातले दिएको १५६ रनको लक्ष्य बेंगलुरुले १८ ओभरमा ५ विकेट गुमाएर पूरा गर्‍यो।

बेंगलुरुको जितमा विराट कोहली नायक बने। उनले ४२ बलमा ९ चौका र ३ छक्काको मद्दतमा अविजित ७५ रन बनाए। भेन्कटेश अय्यरले ३२ रनको योगदान दिए। गुजरातका लागि राशिद खानले २ विकेट लिए भने मोहम्मद सिराज, कगिसो रबाडा र अर्शद खानले समान १–१ विकेट हात पारे। यसअघि टस हारेर पहिले ब्याटिङ गरेको गुजरातले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १५५ रन बनाएको थियो। वासिङ्टन सुन्दरले अविजित अर्धशतक बनाउँदै ५० रन जोडे। निशान्त सिन्धुले २० तथा जस बटलरले १९ रन बनाए।

बेंगलुरुका लागि रसिख सलामले उत्कृष्ट बलिङ गर्दै ३ विकेट लिए। जोश हेजलवुड र भुवनेश्वर कुमारले समान २–२ विकेट लिए भने क्रुनाल पाण्ड्याले १ विकेट लिए। बेंगलुरुले यसअघि पहिलो क्वालिफायरमा पनि गुजरातलाई पराजित गरेको थियो। लिग चरणमा शीर्ष स्थानमा रहँदै उत्कृष्ट प्रदर्शन गरेको बेंगलुरुले फाइनलमा पनि त्यही लय कायम राख्यो। गत संस्करणमा पञ्जाब किङ्सलाई हराउँदै पहिलो पटक आईपीएल उपाधि जितेको बेंगलुरुले यस पटक उपाधि रक्षा गर्न सफल भएको हो।

आईपीएल इतिहासमा लगातार दुई पटक उपाधि जित्ने बेंगलुरु तेस्रो टोली बनेको छ। यसअघि चेन्नई सुपर किङ्सले सन् २०१० र २०११ मा तथा मुम्बई इन्डियन्सले सन् २०१९ र २०२० मा लगातार उपाधि जितेका थिए। आईपीएलमा सर्वाधिक पाँच–पाँच पटक उपाधि जित्ने टोली चेन्नई सुपर किङ्स र मुम्बई इन्डियन्स हुन्। कोलकाता नाइट राइडर्सले तीन पटक उपाधि जितेको छ भने राजस्थान रोयल्स, डेक्कन चार्जर्स, सनराइजर्स हैदराबाद र गुजरात टाइटन्सले समान एक–एक पटक उपाधि जितेका छन्।

Facebook Comments Box