उपत्यकामा २४ घण्टामा करिब दुई हजार चालक कारबाहीमा, पाँच लाखभन्दा बढी राजस्व सङ्कलन
काठमाडौं, १७ जेठ – काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टामा सवारी नियम उल्लङ्घन गर्ने एक हजार ९९४ जना सवारीचालक कारबाहीमा परेका छन्। काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालय का अनुसार विभिन्न प्रकारका ट्राफिक नियम उल्लङ्घन गर्ने चालकलाई कारबाही गर्दा राज्यकोषमा पाँच लाख ४१ हजार ५०२ रुपैयाँ राजस्व सङ्कलन भएको छ।
कार्यालयका अनुसार मादक पदार्थ सेवन गरेर सवारी चलाउने १२७ जना, नियमविपरीत राइड सेयरिङ गर्ने १४२ जना, ट्राफिक सङ्केत बत्ती उल्लङ्घन गर्ने १४९ जना तथा तीव्र गतिमा सवारी चलाउने १०३ जना चालक कारबाहीमा परेका छन्।
त्यसैगरी, लेन अनुशासन पालना नगर्ने १५८ जना, निषेधित क्षेत्रमा हर्न बजाउने १३० जना, सडक पेटीमा सवारी पार्किङ गर्ने १२८ जना, एकतर्फी सडकमा सवारी चलाउने ९५ जना तथा अन्य विभिन्न ट्राफिक नियम उल्लङ्घन गर्ने ९६२ जना चालकलाई पनि कारबाही गरिएको कार्यालयले जनाएको छ। ट्राफिक प्रहरीले सडक सुरक्षा र दुर्घटना न्यूनीकरणका लागि नियम उल्लङ्घन गर्ने चालकमाथि निगरानी तथा कारबाहीलाई निरन्तरता दिइने जनाएको छ।

