दक्षिण सुडानमा ७२ लाख मानिस खाद्य सङ्कटमा, संयुक्त राष्ट्रसङ्घको गम्भीर चेतावनी

काठमाडौं, १६ जेठ – संयुक्त राष्ट्रसङ्घले द्वन्द्वग्रस्त दक्षिण सुडानमा ७० लाखभन्दा बढी मानिसलाई तत्काल खाद्यान्न सहायता आवश्यक रहेको भन्दै गम्भीर मानवीय सङ्कटबारे चेतावनी दिएको छ। संयुक्त राष्ट्रसङ्घको विश्व खाद्य कार्यक्रम (डब्लुएफपी) ले विश्वकै सबैभन्दा कान्छो सार्वभौम राष्ट्र दक्षिण सुडानमा खाद्य असुरक्षा चिन्ताजनक स्तरमा पुगेको जनाएको छ। सङ्गठनले प्रभावित जनताको जीवन रक्षा गर्न आफ्नो सहायता प्रयास विस्तार गरिरहेको भए पनि समयसँग प्रतिस्पर्धा गर्नुपरेको उल्लेख गरेको छ।

दक्षिण सुडानका लागि डब्लुएफपीकी देशीय निर्देशक मुटिन्ता चिमुकाले जोङलेई राज्यको बोर सहरबाट भिडियोमार्फत जेनेभामा पत्रकारहरूसँग कुरा गर्दै ७२ लाख मानिस तत्काल खाद्य सहयोगको खाँचोमा रहेको बताउनुभयो। डब्लुएफपीले जारी गरेको विज्ञप्तिमा अवस्था अत्यन्त गम्भीर रहेको उल्लेख गर्दै सहयोगको आवश्यकता भएका मानिसहरूको जीवन बचाउन तत्काल अन्तर्राष्ट्रिय ध्यान र सहयोग आवश्यक रहेको जनाएको छ।

यसअघि संयुक्त राष्ट्रसङ्घका मानवीय सहायता प्रमुख टम फ्लेचरले दक्षिण सुडान पूर्ण रूपमा भोकमरी र राज्यीय पतनको जोखिमतर्फ उन्मुख भइरहेको चेतावनी दिनुभएको थियो। सन् २०११ मा दक्षिण सुडानले सुडानबाट स्वतन्त्रता प्राप्त गरे पनि त्यसको केही समयपछि गृहयुद्धमा फस्यो। त्यसयता देश चरम गरिबी, भ्रष्टाचार, राजनीतिक अस्थिरता र असुरक्षाको समस्यासँग जुधिरहेको छ।

सन् २०१८ मा राष्ट्रपति साल्भा कीर र उनका लामो समयदेखिका राजनीतिक प्रतिद्वन्द्वी रिक माचरबीच भएको सत्ता साझेदारी सम्झौताले केही समय शान्ति कायम गरे पनि पछिल्ला वर्षहरूमा तनाव पुनः चर्किएको छ। डब्लुएफपीले विशेष गरी जोङलेई राज्यको अकोबो क्षेत्रमा हालै भएका हिंसात्मक घटनापछि आपत्कालीन राहत कार्यक्रमलाई तीव्र बनाएको जनाएको छ।

Facebook Comments Box