काठमाडौं महानगरको छात्रवृत्ति परीक्षामा २६ हजारभन्दा बढी विद्यार्थी सहभागी हुने
काठमाडौं, १३ जेठ – काठमाडौं महानगरपालिका ले आगामी आइतबार सञ्चालन गर्ने कक्षा ११ र १२ को छात्रवृत्ति परीक्षामा २६ हजार ६८० जना विद्यार्थी सहभागी हुने भएका छन् । महानगरपालिकाका अनुसार आवेदन दिएका २६ हजार ८८८ विद्यार्थীমध्ये २०८ जनाको आवेदन अस्वीकृत भएपछि बाँकी विद्यार्थी परीक्षा दिन योग्य भएका हुन् ।
शिक्षा अधिकृत तथा परीक्षा समितिका सदस्य सचिव रामचन्द्र खड्का का अनुसार विद्यार्थीहरूले आवेदन दिएको प्रणालीमार्फत नै प्रवेशपत्र डाउनलोड गर्न सक्नेछन् । महानगरले प्रवेशपत्र रंगीन प्रिन्ट हुनुपर्ने जनाएको छ । महानगरपालिकाले २०८० सालदेखि नीतिगत निर्णय गर्दै महानगर क्षेत्रभित्र सञ्चालनमा रहेका निजी विद्यालयमा कक्षा ११ र १२ अध्ययनका लागि छात्रवृत्ति परीक्षा सञ्चालन गर्दै आएको छ । यस वर्षको छात्रवृत्ति छनोट परीक्षा जेठ १७ गते हुने तय गरिएको छ ।
विद्यार्थीहरूले महानगरपालिकाको आधिकारिक पोर्टलमार्फत लगइन गरेर प्रवेशपत्र डाउनलोड गर्न सक्ने व्यवस्था गरिएको छ । लगइनका लागि एसईईको सिम्बोल नम्बर युजरनेमका रूपमा प्रयोग गर्नुपर्नेछ भने जन्ममिति र इमेल वा सन्देशमार्फत प्राप्त पासवर्ड आवश्यक पर्नेछ । महानगरले परीक्षा केन्द्रमा प्रवेशपत्रसँगै फोटोसहितको परिचय खुल्ने आधिकारिक कागजात अनिवार्य रूपमा ल्याउन निर्देशन दिएको छ ।
एसईई प्रवेशपत्र, विद्यालयको परिचयपत्र वा नागरिकता प्रमाणपत्र मान्य हुने जनाइएको छ । परीक्षा सञ्चालनका लागि महानगरको शिक्षा विभागले केन्द्राध्यक्षहरूको अभिमुखीकरण कार्यक्रम सम्पन्न गरिसकेको जनाएको छ । शिक्षा अधिकारी नमराज ढकाल ले परीक्षा निष्पक्ष, सहज र विद्यार्थीमैत्री बनाउने उद्देश्यले केन्द्राध्यक्षलाई सहजीकरण गर्न निर्देशन दिइएको जानकारी दिए ।
महानगरले कक्षा १० सम्मको छात्रवृत्ति वडास्तरीय समितिको सिफारिसमा उपलब्ध गराउने गरेको छ भने कक्षा ११ र १२ का लागि परीक्षा सञ्चालन गरी नतिजाका आधारमा छात्रवृत्ति प्रदान गर्दै आएको छ । परीक्षापछि योग्यता क्रमसूची सार्वजनिक गरिने र त्यसपछि ‘म्याचिङ लिस्ट’ का आधारमा विद्यार्थीको नाम सिफारिस गरिनेछ । छात्रवृत्तिमा छनोट भएका विद्यार्थीले कक्षा ११ र १२ अध्ययनका क्रममा कुनै पनि शैक्षिक शुल्क तिर्नु नपर्ने व्यवस्था गरिएको छ ।
महानगरले जेठ १ देखि १० गतेसम्म आवेदन खुला गरेको थियो । महानगरका अनुसार २०८० सालदेखि सुरु गरिएको यो कार्यक्रमबाट हालसम्म देशभरका करिब १५ हजार विद्यार्थी लाभान्वित भइसकेका छन् ।गत वर्ष सञ्चालन गरिएको छात्रवृत्ति प्रवेश परीक्षामा १४ हजारभन्दा बढी विद्यार्थी सहभागी भएका थिए । त्यसमध्ये १० हजार ८६७ जना उत्तीर्ण भए पनि करिब ४ हजार ५ सय विद्यार्थीले मात्रै छात्रवृत्ति प्राप्त गरेका थिए । हालका प्रधानमन्त्री वालेन्द्र शाह काठमाडौं महानगरपालिकाको प्रमुख हुँदा यो छात्रवृत्ति प्रणाली सुरु गरिएको थियो ।

