वामदेव गौतमको पार्टी निर्वाचन आयोगमा दर्ता

काठमाडौँ, १० साउन – वामदेव गौतमको संयोजगत्वमा घोषणा भएको नेकपा (एकता राष्ट्रिय अभियान) दल निर्वाचन आयोगमा दर्ता भएको छ। गत १४ असारमा राजधानीमा पत्रकार सम्मेलन गर्दै घोषणा गरिएको सो दलको दर्ता प्रक्रिया सम्पन्न भएको पार्टीका प्रचार विभाग प्रमुख निमकान्त पाण्डेले जानकारी दिए।

दल दर्ताका लागि पार्टीका केन्द्रीय सदस्यहरु सोमबार दिउँसो आयोग पुगेका थिए। उनीहरुले आयोगमा पुगेर सनाखत गरेको पाण्डेले नेपालखबरलाई बताए। दलको नाम नेकपा (एकता राष्ट्रिय अभियान) र चुनाव चिह्न ‘धानको बाला’ राखिएको छ। चन्द्र आकारको गोलाकारभित्र झुलेको धानको बाला राखिएको उनले बताए।

‘आज वा भोलि निर्वाचन आयोगले प्रमाणपत्र दिन्छ होला,’ पाण्डेले नेपालखबरसँग भने, ‘हामीले आवश्यक प्रक्रिया सबै सम्पन्न गरेका छौं।’ सुरुमा गुलाबको रुख चुनाव चिह्न मागेर आयोगमा दल दर्ता गराइएको थियो। उक्त चिह्न अर्कै दलले प्राप्त गरिसकेको भेटिएपछि ‘धानको बाला’ रोजिएको हो।

दल दर्ता गरेर अघि बढेका वामदेव पछिल्लो समय नेपालका वामपन्थी दलहरुलाई एकीकृत गर्ने अभियानमा होमिएका छन्। उनले पार्टी घोषणा गरेलगत्तै एमाले अध्यक्ष केपी शर्मा ओली, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल लगायतका नेताहरुसँग भेटघाट बाक्लो बनाएका छन्।

Facebook Comments Box