कङ्गोमा इबोला सङ्क्रमणबाट मृत्यु सङ्ख्या १०० नाघ्यो
काठमाडौँ, ५ जेठ – प्रजातान्त्रिक गणतन्त्र कङ्गोमा फैलिएको इबोला भाइरस सङ्क्रमणका कारण मृत्यु हुनेको सङ्ख्या १०० नाघेको छ । हालसम्म कम्तीमा १०० जनाको मृत्यु पुष्टि भएको छ भने ३९० भन्दा बढी व्यक्ति शङ्कास्पद बिरामीका रूपमा पहिचान भएका छन् ।
विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ) ले इबोला प्रकोपलाई अन्तर्राष्ट्रिय स्वास्थ्य सङ्कटकाल घोषणा गरेको छ । सङ्क्रमण तीव्र रूपमा फैलिन थालेपछि उच्च सतर्कता अपनाइएको जनाइएको छ । अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार कङ्गोमा कम्तीमा छ जना अमेरिकी नागरिकमा पनि इबोला भाइरस सङ्क्रमण पुष्टि भएको छ ।
यसपटक फैलिएको सङ्क्रमण इबोलाको ‘बुन्डिबुग्यो’ स्ट्रेनका कारण भएको बताइएको छ । उक्त स्ट्रेनका लागि हालसम्म कुनै स्वीकृत औषधि वा खोप उपलब्ध छैन । छिमेकी देश युगान्डाले पनि दुई जनामा इबोला सङ्क्रमण पुष्टि भएको जनाएको छ । तीमध्ये एक जनाको मृत्यु भएको अधिकारीहरूले बताएका छन् । स्वास्थ्य अधिकारीहरूले सीमा क्षेत्रमा निगरानी बढाउनुका साथै सङ्क्रमण नियन्त्रणका लागि अन्तर्राष्ट्रिय सहयोगलाई तीव्र बनाइएको बताएका छन् ।

