म्याग्दीमा रेडपाण्डाको अवस्था पहिचान गर्न क्यामेरा जडान

म्याग्दी, ५ जेठ – सङ्कटापन्न वन्यजन्तु रेडपाण्डा (हाब्रे) को अवस्था पहिचान गर्न म्याग्दीको धौलागिरि गाउँपालिकाअन्तर्गत जलजला क्षेत्र र ढोरपाटन शिकार आरक्षमा स्वचालित क्यामेरा जडान गरिएको छ । दातृ निकाय टोलेडोजुको सहयोगमा जैविक विविधता संरक्षण समाज नेपाल (बायोकस) नेपालले धौलागिरि गाउँपालिका–२ र ३ मा पर्ने जलजला, मुना, मरेनी तथा ढोरपाटन शिकार आरक्ष क्षेत्रमा ‘क्यामेरा ट्रयापिङ’ विधिमार्फत हाब्रेको अवस्थाबारे अध्ययन सुरु गरेको हो ।

बायोकस नेपालका कार्यक्रम अधिकृत पवन राईले हाब्रेको आवतजावत हुने सम्भावित स्थान तथा दिसा भेटिएका क्षेत्रमा १२ वटा स्वचालित क्यामेरा जडान गरिएको जानकारी दिनुभयो । “क्यामेरामा कैद हुने दृश्यका आधारमा रेडपाण्डाको अनुमानित सङ्ख्या पहिचान गर्न सहयोग पुग्नेछ,” उहाँले भन्नुभयो, “यस क्षेत्रमा हाब्रेको पेट र आन्द्रामा हुने परजीवीको अवस्थाबारे पनि अध्ययन भइरहेको छ ।”

हाब्रेको स्वास्थ्य अवस्था तथा संरक्षणसम्बन्धी थप जानकारी सङ्कलन गर्न प्राविधिक टोलीले दिसाको परीक्षणसमेत गरिरहेको जनाएको छ । समुद्री सतहबाट दुई हजार २०० मिटरदेखि चार हजार ५०० मिटर उचाइसम्म बसोबास गर्ने रेडपाण्डालाई नेपाल सरकारले सङ्कटापन्न वन्यजन्तुको सूचीमा राखेको छ । यसअघि जलजला क्षेत्रमा जडान गरिएका तीन वटा क्यामेरामध्ये दुई वटामा रेडपाण्डा देखिएको कार्यक्रम अधिकृत राईले जानकारी दिनुभयो ।

उहाँका अनुसार उक्त क्षेत्रमा हाल छदेखि २५ वटासम्म रेडपाण्डा रहेको अनुमान गरिएको छ ।स्थानीयवासीले विसं २०८० असोजमा ढोरपाटन शिकार आरक्षको गुर्जाघाट क्षेत्रमा तथा विसं २०८१ मङ्सिर र २०८३ वैशाख ३१ गते मुनास्थित दहपातल सामुदायिक वनको बञ्चरेडाँडा क्षेत्रमा हाब्रे देखिएको तस्बिर तथा भिडियो सार्वजनिक गरेका थिए ।

यसअघि विसं २०७३ मा विश्व वन्यजन्तु कोष र हरियो वन कार्यक्रमको आर्थिक सहयोगमा रेडपाण्डा नेटवर्क तथा हिमाली संरक्षण मञ्चले जलजला क्षेत्रको मरेनीमा रेडपाण्डाको दिसा फेला पारेका थिए । रेडपाण्डा रातको समयमा रुखको टोड्कामा बास बस्ने र दिउँसो रुखका हाँगामा आराम गर्ने जनावर हो । भोक लागेका बेला निगालोका टुसालगायत झारपात खान जमिनमा झर्ने गर्छ ।

गुर्जा, लुलाङ र मुनाका जंगलमा रेडपाण्डाका लागि आवश्यक निगालो, पालिङ्गो तथा टोट्का परेका रुख प्रशस्त रहेको बताइएको छ । राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन, २०२९ अन्तर्गत रेडपाण्डालाई संरक्षित वन्यजन्तुको सूचीमा राखिएको छ ।

रेडपाण्डाको चोरी सिकारीमा संलग्न व्यक्तिलाई एक वर्षदेखि १० वर्षसम्म कैद र एक लाखदेखि पाँच लाख रुपैयाँसम्म जरिवाना वा दुवै सजाय हुने कानुनी व्यवस्था रहेको छ । पछिल्लो अध्ययनअनुसार नेपालमा रेडपाण्डाको सङ्ख्या पाँच सयदेखि एक हजारको हाराहारीमा रहेको अनुमान गरिएको छ । विश्वमा नेपाल, चीन, भारत, भुटान र म्यानमारमा मात्रै रेडपाण्डाको प्राकृतिक वासस्थान रहेको छ ।

Facebook Comments Box